काठमाडौं । सिन्धुलीको गोलनजोर गाउँपालिका–६ बिप्पर कटेरीमा एकै परिवारका १६ जना रहस्यमय ढंगले बेपत्ता भएका छन् ।
बेपत्ता उर्मिला हायुको परिवारले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ताको ८ लाख रूपैयाँभन्दा बढी रकम चार दिनअघि मात्र एकमुष्ट रुपमा लिएका थिए । सोहीदिन घरमै सुँगुर काटेर मासु खाएको र भोलिपल्टदेखि सम्पर्कविहीन भएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार बेपत्ता परिवारले बिहीबार (८ साउन) को दिन घरमै सुँगुर काटेर मासु खाएको जानकारी गाउँलेहरूले दिएका छन् । त्यसपछि उनीहरू सम्पर्कविहीन छन् ।
सिन्धुलीका प्रहरी, स्थानीय प्रशासन र स्थानीय बासिन्दाले सोमबार बिहानदेखि खोजी सुरु गरेका छन् । उनीहरू बसोबास गर्दै आएको घर टाढा र एकान्तमा भएकाले ढिलोसम्म पनि बेपत्ताबारे जानकारी पाइएको थिएन ।
गोलनजोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार घर नजिकैको एक छाप्रोमा आगो लगेर निभाएको देखिएको छ । काठहरू डढेका छन्, केही लुगाहरू झुन्डिएको अवस्थामा भेटिएका छन् । भाँडाकुँडा घरबाहिर देखिन्छन् तर जस्ताले छाएको घरभित्र कोही छैन ।
उर्मिला हायुको परिवारको अर्को बसोबास रामेछापमा पनि भएकाले प्रहरी त्यसतर्फ पनि खोजी कार्यमा खटिएको छ । तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।
गोलनजोर–६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार बेपत्ता परिवारले सीमान्तकृत समुदायका सदस्यको नाताले पाउने सामाजिक सुरक्षा भत्ताबापत एकैपटक १८ जनाको नाममा झन्डै ८ लाख रुपैयाँ बैंकबाट झिकेका थिए । त्यसपछि घरमा आफ्नै सुँगुर काटेर खाएका थिए । त्यसको भोलिपल्टदेखि उनीहरू सम्पर्कविहीन छन् ।
श्रेष्ठले सोमबार बिहान ११ बजेपछि मात्र घटनाबारे थाहा पाएर प्रहरीसहित घटनास्थल पुगेका थिए । उनले बताएअनुसार परिवारले भत्ता बुझेको दिन खसी पनि बेचिएको थियो । गाउँलेका अनुसार तीन दिनदेखि गोठमा बाँधिएको पाडो पनि बेवारिसे थियो, जसका कारण छिमेकीले शंका गरी घर पुग्दा कोही नभेटिएको हो ।
वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘उहाँहरू तीन दिनदेखि हराएको हो कि हिजो राति मात्रै ? यो प्रस्ट छैन । घरमा गाईबस्तु भोकले कराइरहेका छन् । बाख्राहरू छन्, कुखुरा छन् । आगो लागेझैं भएको देखिन्छ । सुँगुरको २ धार्नी जति मासु पनि आँगनको छेउमा भेटिएको छ।’
उर्मिला हायुको परिवारमा उनका छोराछोरी, बुहारी, नातिनातिना गरी १६ जना सदस्य छन् । परिवारका सबै सदस्य अचानक हराएको घटनाले गाउँ नै स्तब्ध बनेको छ । प्रहरी र स्थानीय प्रशासनले संभावित सबै ठाउँमा खोजी जारी राखेको जनाइएको छ ।
रामेछापका डीएसपी भोलाकुमार भट्टका अनुसार, रामेछापको हायु समुदाय रहेको केही ठाउँमा पनि खोजी गरिएको छ, तर अहिलेसम्म फेला नपरेको जानकारी दिएका छन् ।
स्थानीयका अनुसार हायु परिवारको बैंक, सहकारी र गाउँमा निकै ऋण भएको पनि खुलेको छ। प्रहरीले सम्पत्ति, ऋण तथा परिवारको आर्थिक अवस्था समेत अनुसन्धानको दायरामा ल्याएर खोजी कार्य तीव्र बनाएको जनाएको छ । तर घटनाको कारण, अवस्था र यथार्थबारे ठोस निष्कर्ष ननिस्कँदासम्म यो घटना रहस्यमय नै देखिएको छ ।
