काठमाडौं । पछिल्लो समय मधेस प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । तर, पुरातन अपराधबाहेक आर्थिक अपराध, आत्महत्या, लागूऔषध, सकड दुर्घटना जस्ता घटनाहरुमा वृद्धि भइरहेको प्रहरीको तथ्यांकले देखाएको छ ।
सामाजिक अपराध अन्तर्गत घरेलु हिंसाको कसुरहरुको उजुरी संख्यामा केही वृद्धि भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै तस्करी र राजश्व छलीका घटनाहरु विगतमा जस्तै नभएता पनि आशातीत रुपमा नियन्त्रण गर्न प्रहरीले सकिरहेको छैन ।
केही हदसम्म नियन्त्रण भएपनि आगामी दिनमा संयुक्त रणनीति बनाइ सबै साझेदार निकायहरु एकजुट भइ लाग्न आवश्यक देखिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।
यसैगरी, राजनैतिक द्धन्द्ध र सोबाट सृजित समस्या, साम्प्रादायिक दंगा जस्ता घटनाहरुमा समयमै सर्तकता अनपाएको कारण न्युनीकरण भएको तर कुनै पनि बेला भड्किन सक्ने अवस्था भने रहेको बताइएको छ ।

पोखरीमा डुबी र करेन्ट लागेर गयो धेरैको ज्यान
विपद्मा धेरैले ज्यान नगुमाए पनि पोखरीमा डुबी मृत्यु, करेण्ट लागि मृत्युका घटनाहरुमा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा मात्रै २१५ जना पानीमा डुबेर मृत्यु भएको छ भने १३८ जनाको करेण्ट लागेर र १९ जनाको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आत्महत्या र सडक दुर्घटना बढ्यो
त्यसैगरी आत्महत्या र सडक दुर्घटनाको संख्या बढेको बताइन्छ । गत आर्थिक वर्षमा महिला पुरुष गरेर १ हजार २५३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै वैदेशिक रोजगार, सामाजिक संजालको दुरुपयोग तथा आर्थिक अपराधका पीडितहरु बढी जोखिममा रहेको तथ्यांकले देखाउँछ ।
प्रेमिल जोडीहरुको सम्बन्धमा दरार, बिबाहेत्तर सम्बन्ध तथा ब्ल्याकमेलको कारण पछिल्लो समय हत्याहरुको नयाँ रुपको घटनाहरु भइरहेको कारण सामाजिक विकृतिको स्तर बढ्दै गइरहेको सहजै अनुमान लगाउन सकिने मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
लागूऔषधमा मधेस प्रहरी कार्यालयलाई सफलता
लागूऔषधको बढ्दो व्यापार, दुरुपयोग र ओसारपोसारको ठूलो सञ्जाल पक्राउ परेको, मधेसको नाकाहरुमार्फत उपत्यकालगायत अन्य भागमा समेत पठाउने र भित्र्याउने कार्य भइरहेको कारण बरामदी संख्या पनि बढेको प्रहरीले जनाएको छ । लागूऔषधको मुद्दा दर्ता संख्यामा वृद्धि र पक्राउ अभियुक्तको संख्यामा समेत वृद्धि भएको तथ्यांकले देखाएको छ ।

प्रदेश प्रहरी कायार्यलयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा लागूऔषधको ५८४ मुद्दा दर्ता भएको थियो । जसमध्ये ५२२ वटा अर्थात ८९ प्रतिशत फस्र्यौट भएको बताइएको छ । यसरी लागूऔषधमा मधेश प्रदेश प्रहरी कार्यालयले सफलता हात पारेको छ ।
लागूऔषध तथा आत्महत्या प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नभएर सबै जिम्मेवार निकाय र तह तप्काका व्यक्ति तथा संस्था लागिपर्न आवश्यक रहेको डिआईजी चतुर्वेदी बताउँछन् ।
सुरक्षा व्यवस्था मजबुत बनाउन दिनरात प्रहरी परिचालन
त्यतिमात्र नभएर मधेश प्रदेश प्रहरी कार्यालय मातहतका सबै जिल्लाका प्रहरी कर्मचारीहरु प्रदेशको समग्र शान्ति र सुरक्षाको अवस्थालाई सुदृढ बनाउन दिनरात लागिपरेको डिआईजी चतुर्वेदीले बताए ।
डिआईजी चतुर्वेदीकाअनुसार लामो तथा छोटो दुरीका गस्ती परिचालन, सरप्राइज चेकिङ, निगरानी, खानतलासी, तथा आपराधिक चरित्र व्यक्तिहरुको पहिचान गरी कानुन बमोजिम कारबाहि भइरहेको छ ।

यस्तै सचेतनामूलक कार्यक्रममार्फत आम नागरिकलाई अपराध गर्नबाट समयमै सचेत गराइ सुयोग्य नागरिक निर्माणमा मधेस प्रदेश प्रहरी कार्यालयले आफ्नो दायित्व निर्वाह गरिरहेको छ ।
जसअनुरुप मधेस प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी युनिटहरुले २० हजार ३८८ वटा सचेतना कार्यक्रम गरी १३ लाख ७ हजार ६२७ जना सचेतना कार्यक्रमबाट लाभान्वित भएका छन् ।
प्रहरी संगठनभित्रको आन्तरिक सुदृढीकरणको लागि दण्ड र पुरस्कार कार्यकलाई प्रभावी तबरले अगाडि बढाइएको छ । अनुशासन विपरित कार्य गर्नेलाई दण्डित गरिएको कार्यालयले जनाएको छ । नीति विपरित परिचालित सादा पोसाकका प्रहरीलाई तत्काल जिम्मेवारीबाट हटाई तोकिए बमोजिमको अन्य प्रहरी कार्यमा लगाएको पाइएको छ ।
यस्तै राजनैतिक संख्यामा हुने अपराध र सोको संरक्षण गर्ने समूहबाट जनतालाई न्याय दिलाउने कुरामै प्रहरीको समय बढी खर्च हुने गरेको पाइएको छ ।
अपराधको ग्राफ बढ्दो

मधेस प्रदेशमा अपराधको ग्राफ बढ्दो अवस्थामा छ । प्रदेशका ८ वटै जिल्लामा दर्ता भएका मुद्दालाई आधार मान्ने हो भने आपराधिक घटना बढ्दो देखिएको हो ।
गत आर्थिक वर्ष २०८१-०८२ मा ११ हजार ७६२आपराधिक मुद्दा दर्ता भएका छन् । ती मुद्दाहरुमा प्रहरीले ७ हजार ३७४ जनालाई पक्राउ गर्न सफल भएको छ ।
अपराधको तथ्यांक
गत आर्थिक वर्षमा ४५८ चोरी डाँका मुद्दा दर्ता भएकोमा ४३२ वटा अर्थात ९४.३२ प्रतिशत फस्र्यौट भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मधेश प्रदेशमा सानाठूला गरी ३५ वटा हातहतियार बरामद भएको छ ।
यसैगरी ५ हजार ८११ फरार अपराधी पक्राउ गर्न मधेश प्रदेश प्रहरी कार्यालय सफल भएको छ । यस्तै १५ हजार ४४२ किलो गाँजा, ५०८ किलो चरेश, ३ कलिो २ सय ग्राम प्राउन सुगर, ४६ कलिो अफिम र ३ लाख ७५ हजार ७३६ वटा ट्याब्लेट, इन्जेक्सन, बोत्तल बरामद गरेको छ ।
राजश्व
मधेस प्रदेश प्रहरी कार्यालये सोही अनुरुप राजश्व समेत संकलन गरेको छ । १ अर्ब ३५ करोड ९७ लाख २७ हजार ९२३ रुपैयाँ बराबरको भन्साल छलीको सामान नियन्त्रणमा लिएर सम्बन्धित कार्यालयमा बुझाएको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, १८ करोड ३७ लाख ९१ हजार ३५८ रुपैयाँ ट्राफिक राजश्वबाट उठेको छ ।
