काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूबीचको विवादले उग्र रूप लिँदा पालिका बजेटविहीन भएको छ ।
गत असार २७ गतेको गाउँसभामा अध्यक्ष नमोनारायण माझीका समर्थकले खुकुरी प्रदर्शन गरेपछि सभा अवरुद्ध भएको थियो । सो दिनको घटनापछि गाउँसभा दोहोरिन सकेको छैन, जसका कारण हालसम्म बजेट पास हुन नसकेको हो ।
घटनाको १२ दिनपछि उपाध्यक्षसहित ९ जना जनप्रतिनिधि मोरङ जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर पुगेका छन् । उनीहरूले चार जना माओवादी केन्द्रका कार्यकर्ताविरुद्ध अभद्र व्यवहार तथा सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोप लगाएका छन् ।
७ वटा वडा रहेको पालिकामा उपाध्यक्ष गुणावती धामी थारु, वडा नं. १ का वडाध्यक्ष सुरेश कुमार माझी, वडा नं. २ का यादव खतिवडा, वडा नं. ४ का बद्रीनारायण माझी, वडा नं. ५ का भेषनारायण चौधरी, वडा नं. ६ का वीरनारायण चौधरी, वडा नं. ७ का विरेन्द्र चौधरी, कार्यपालिका सदस्य देवीकुमारी चौधरी र उसादेवी चौधरीले जाहेरीमा हस्ताक्षर गरेका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित वडा नं. ३ का अध्यक्ष रमेशकुमार भगत भने जाहेरीकर्तामा परेका छैनन् । साउन ७ गते दिएको जाहेरीमा ग्रामथान–१ का ४५ वर्षीय राजेश भगत, सोही वडाका विष्णु माझी, वडा नं. २ का राजन माझी र गयालाल माझीविरुद्ध कारबाहीको माग गरिएको छ ।
जाहेरीमा राजन माझीले सुरक्षा गार्डको खुकुरी निकालेर सभा हलमा हुलदङ्गा गरेको, जनप्रतिनिधिलाई कुटपिट र ज्यान मार्ने धम्की दिएको दाबी गरिएको छ । उपाध्यक्ष गुणावतीका अनुसार खुकुरी प्रदर्शन गर्नेहरू अध्यक्ष माझीले राखेका ‘बाउन्सर’ हुन् ।
‘गाउँसभामा अध्यक्षले राखेका बाउन्सरले खुकुरी झिकेका थिए । सबै घटनाको सीसीटीभी फुटेज सुरक्षित छ र प्रहरीले पनि हेरेको छ।’– उनले भनिन् ।
अध्यक्ष नमोनारायण माझीले भने खुकुरी प्रदर्शनको आरोप अस्वीकार गरेका छन् । उनले सामान्य विवादलाई अतिरञ्जित बनाइएको दाबी गरे ।
जिल्ला प्रहरी कार्यालय मोरङले उक्त जाहेरी दर्ता नगरेको जनाएको छ । एसपी नारायण चिमरियाले घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक अध्ययनपछि मात्र अगाडि बढ्ने बताए । ‘सबै कुरा हेरेर वास्तविकता बुझेर जे गर्नुपर्ने हो, गर्छौं,’– उनले भने ।
असार १० गते अध्यक्ष माझीले एकतर्फी रूपमा बजेट प्रस्ताव गरेका थिए । तर गाउँसभा बहिष्कार र विवादका कारण बजेट पारित हुन नसकेको हो । त्यसको असर राजस्व संकलन, योजना कार्यान्वयन र अन्य प्रशासनिक काममा परेको छ ।
अध्यक्ष माझीले बजेट पास नहुनुको दोष विपक्षी जनप्रतिनिधिहरूमाथि दिएका छन् भने उपाध्यक्ष थारुले अध्यक्षले नै चासो नदेखिएको बताएकी छन् ।
