काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरमा तीन वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले गएराति प्रेमिकाको निर्मम हत्या गरेका छन् ।
प्रेमिका २२ वर्षीया निर्मला थापाको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रकाशले सलले घाँटी कसेर निर्मलाको हत्या गरेका हुन् । बर्दिया घर भएका सुनार विवाहित र दुई सन्तान (एक छोरा र एक छोरी)का पिता हुन् ।
दैलेख घर भएकी निर्मला नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्थिन् भने प्रकाश नेपालगन्जमै रहेको स्वस्तिक कटेजमा क्याप्टेन पदमा कार्यरत थिए । उनीहरू बेलासपुरस्थित एउटै डेरामा सँगै बस्दै आएको खुलेको छ ।
निर्मलाको हत्या गरेपछि प्रकाशले राति २ बजे उनकी बहिनीलाई फोन गरी घटनाका विषयमा जानकारी गराउँदै प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न जान लागेको बताएका थिए । तर, फरार भए । यद्यपी, निर्मलाकी बहिनीले खबर पाएलगत्तै प्रहरीलाई खबर गरेका कारण उनी भाग्न भने पाएनन् ।
नेपालगन्जको धम्बोझी नजिकैबाट प्रकाशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट निर्मलाको शव, हत्याका लागि प्रयोग गरिएको सललगायतका सामग्री बरामद गरेको छ । शवलाई शनिवारै भेरी अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईएको छ ।
प्रकाशले प्रहरी समक्ष दिएको बयानमा निर्मलालाई ‘कान्छी श्रीमती’ को रूपमा राखेको बताएका छन् । तर कानुनी रुपमा विवाह भएको प्रमाण फेला परेको छैन । विवाहका लागि पारिवारिक छलफल र सहमति पनि नभएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
निर्मलाको हत्या किन भयो ? भन्ने प्रस्ट खुलेको छैन । परिवारले शनिबार प्रहरीमा जाहेरी दिँदै निर्मलाको जघन्य हत्याका दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
