काठमाडौं । चितवन प्रहरीले साढे ६ क्वीन्टल बढी गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कन्टेनर चालक भारत बिहार राज्य पूर्वी चम्पारणको तुर्कालिया बस्ने वर्ष ३७ का शेख सविल अख्तर रहेका छन् ।
चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको भारतीय कन्टेनरबाट राप्ती–१, स्थित लोथर पुल नजिकबाट उक्त गाँजासहित कन्टेनर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा आज बिहान ४ बजेको समयमा भारतीय नम्बर प्लेट युपी ८२ टी ३९२१ नम्बरको कन्टेनर ट्रक चेकजाँच गर्दा ६७१ किलो ६ सय ग्रामको ४३ वटा पोका गाँजा बरामद गरिएको एसपी पुरीले बताए ।
काठमाडौंबाट सामान पुर्याएर खाली फर्किएको कन्टेनरमा चितवनको राप्तीबाट गाँजा लोड गरेर वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिप्रका चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।
उक्त गाँजा कन्टेनरको ड्राइभर क्याबिनको माथिल्लो भागमा फल्स बटन बनाइ प्याकिङ गरिएको अवस्थामा फेला परेको हो ।
तस्बिर : राजेन्द्र आचार्य
