काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन क्षमता कमजोर भएका केही जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन गर्न खोजेको छ । गृह मन्त्रालयसँग समन्वय गरेर कार्यालयले जिल्ला कमाण्ड गरेका प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा तयारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाही, मोरङ, धनुषा, बाँके, कन्चनपुर, रुपन्देही, मकवानपुरलगायतका एसपीहरुलाई परिवर्तन गर्न खोजेको हो ।
सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले खटाएका कतिपय चौकीका इन्चार्जहरुको घुस डिल गरेको भिडियो छताछुल्ल भएपछि उनको कमाण्ड कन्ट्रोलमा प्रश्न उठेको छ ।
पटकपटक निलम्बनमा परेका वैद्यनाथ दास, रामबालक यादव जस्ता जुनियर अधिकृतलाई चौकी इन्चार्जको जिम्मा दिएर खुलेआम तस्करीको लाइन चलाएको आरोप उनीमाथि छ ।
यस्तै मोरङका एसपी नारायण चिमरियाको बारेमा पनि धेरै गुनासा आएकाले उनी पनि परिवर्तन हुने सूचीमा छन् । गृहमन्त्री सवार एक कार्यक्रममा गुट्खा खाएको भिडिओ भाइरल समेत भएको थियो । उनको गत कात्तिक ५ गते मोरङ सरुवा भएको थियो ।
यसैगरी, मकवानपुरका एसपी विश्वराज खड्का, धनुषाका एसपी नरहरि शर्मा, बाँकेका एसपी रामबहादुर घर्ती, कन्चनपुरका एसपी खड्कबहादुर खत्री, रुपन्देहीका एसपी प्रदीप क्षेत्रीको पनि प्रहरी मुख्यालयले विकल्प खोजी गरिरहेको छ ।
कन्चनपुरका केही समयअघि भएको शिक्षकको हत्या, बाँके र धनुषामा तस्करी बढेको, रुपन्देही र मकवानपुरमा घुमुवाहरुको असुली विवाद परेकाले पनि प्रहरी नेतृत्व ती जिल्लाको कमाण्ड नै फेर्ने तयारीमा रहेको बताइन्छ ।
अवधी नपुग्दै उनीहरुको कार्यक्षमतामा प्रश्न उठाउँदै प्रधान कार्यालयले सरुवाको तयारी गरेको हो । सरुवा हुने हल्लापछि उनीहरु पछिल्लो समय सरुवा रोक्न नेताहरु भेट्नमा व्यस्त रहेको स्रोत बताउँछ ।
यस्तै पहाडी जिल्लाहरुका एसपीहरु समेत’ रेड जोन’मा परेको बताइन्छ ।
यस्तै केही जिल्लाका एसपीहरुको समयाअवधी पुगिसकेको हुनाले उनीहरुको पनि सरुवा तयारी भइरहेको बताइन्छ ।
