काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले विभिन्न सहकारीबाट लिएको करिब १९ लाख ऋण नतिरेको पाइएको छ । उनी एकीकृत समाजवादीको कोटाबाट जिसस प्रमुख बनेका हुन् ।
उनले सहकारीको ऋण तिर्न निकै अटेर गरिरहेका छन् । हाल विभिन्न सहकारी बचतकर्ताको बचत रकम अपचलन भई सहकारी संचालक थुनिरहेको अवस्थामा सरकारकै मातहतमा रहेका र राजनैतिक छत्रछायामा रहेका गौतमको कर्तुत बाहिर आएको हो ।
जिसस काभ्रेको प्रमुख नै यस्तो हर्कत गर्नसक्छन् भने अन्य सदस्यहरुबाट रकम असुली गरी बचत फिर्ता गर्न संचालकलाई गाह्रो परिरहेको अवस्था छ । गौतमले जेष्ट सहकारीलगायत अन्य सहकारीहरुबाट ऋण लिएर नतिरेको पाइएको हो ।
उनले पैसा तिर्दिन नि भन्दैनन्, तर लामो समयदेखि झुलाएर राखेको सहकारी सञ्चालक बताउँछन् । ‘कहिले आजै हुन्छ, कहिले भोलि हुन्छ, तपाईको खाता नम्बर पठाउनु अहिले हाल्दिन लगाइदिन्छु वा भेटेर दिन्छु भनेर हैरानी मात्र दिए,’ ती सञ्चालकले भने ।
उच्च पदमा बसेर खाएको ऋण नतिर्ने मनासायले गौतमले आलटाल गरिरहेको हुन् । जसले गर्दा त्यो पदमा बस्न उनलाई कुन नैतिकताले दिन्छ ? भन्दै प्रश्न उब्जिएको छ ।
यस्तो विषयमा सरकार गम्भीर भएर कदम नचाल्ने हो भने सिंगो सहकारी क्षेत्र झनै बद्नाम हुने देखिन्छ । यसरी खुलेआम रुपमा ठगी गरेर हिँडेका जिसस प्रमुख गौतमलाई सम्पर्क गर्दा सम्पर्कमा नै आउन चाहेनन् ।
जबकी जिसस प्रमुखको काम, जिम्मेवारी भनेको कुनै ठाउँमा कहिँकतै केही नराम्रा कामहरु भएको छ कि भनेर अनुगमन गर्ने हो । तर, जिसस प्रमुख आफैं आर्थिक अनियमिततामा मुछिएपछि उनीमाथि नैतिक प्रश्न खडा भएको छ ।
यसअघि गौतमलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो । विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।
तर, ७ लाखको बैङ्किङ कसुर मुद्दा मिलापत्र गरेर काठमाडौं प्रहरीले टुंग्याइएको थियो । त्यसपछि काभ्रे प्रहरीले उनलाई उपस्थित गराइदिन पत्राचार गरेपछि काठमाडौं प्रहरीले उनलाई काभ्रे प्रहरीको जिम्मा लगाएको थियो ।
