काठमाडौं । मान्छेबाट नै हुने हो गल्ती, कोहीले जानेर गर्छन् भने कोही अन्जानमा गर्छन् । त्यसैले एकपटकको गल्तीले जीवनमा सधैं पछाडि मात्र फर्केर हेर्नुपर्ने हुन्छ भन्ने होइन । तर, नेपाल प्रहरीका प्रहरी उपरक्षिक (एसपी) विमल बस्नेतको हकमा त्यहि लागू भएको देखिन्छ ।
५ साउनमा गृह मन्त्रालयले ११ जना एसपीलाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्यो । तर, एक नम्बरमा रहेका एसपी बस्नेत योपटक पनि बढुवामा छुटे ।
२०७४ साउन २ गते प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट एसपी हुँदा बस्नेत १० औं नम्बरमा बढुवा भएका थिए । त्यसयता एसएसपी बढुवा ५ पटक निस्कियो । ब्याचमेट सबै बढुवा भइसके, तर उनी एसपीमै छुटिरहेका छन् ।
अहिलेको एसएसपी बढुवाको प्रतिस्पर्धामा रहेकामध्ये सबैभन्दा सिनियर रहेका बस्नेत २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका अधिकृत हुन् ।
२४ असार २०७९ सालमा उनकै ब्याचमेटहरु सिद्धिविक्रम शाह, सुसिल सिंह राठौरलगायत ३२ जनाको टोली एसएसपी बढुवा भएका थिए । जतिबेला बस्नेत छुटेका थिए ।
यस्तै २०८० वैशाख १५ गते विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्रीलगायत १८ जना एसएसपीमा बढुवा सिफारिस भए । जतिबेला पनि बस्नेत छुटेका थिए । यस्तै २०८० माघमा एकल बढुवा सिफारिस भए रमेश कुमार बस्नेत ।
त्यसैगरी, २०८१ जेठ १८ गते चारजना एसपीलाई एसएसपीमा बढुवा गरियो । त्यसबेला पनि बस्नेत छुटे । यस्तै २०८१ माघ १ गते २५ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्दा पनि बस्नेत बढुवामा अटाएनन् ।
उनी यसरी बढुवामा छुट्नुको कारण प्रहरी संगठनभित्रको कारबाहीलाई मुख्य रुपमा हेरिएको छ । एसपीमा प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा बस्नेतमाथि आफू मातहतका युनिटबाट पैसा असुल गरेको आरोप लाग्यो ।
प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा अनियमितता पुष्टि भएपछि उनलाई कारबाहीको लागि गृहमा सिफारिस गरिएको थियो । त्यसपछि गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।
तर पहिले निलम्बनमा परेका बस्नेतले पछि सफाइ भने पाएका थिए । सोहीकारण जागिरमा पुनः फर्किए । त्यही कारबाहीलाई देखाउँदै प्रहरी नेतृत्वदेखि गृहमन्त्रीले बस्नेतलाई बढुवामा छुटाउँदै आएका छन् ।
अहिले ५ वर्षपछि भर्ना भएको टोली अर्थात २०५८ सालको टोलीसँग एसएसपी बढुवामा प्रतिस्पर्धा गर्दा पनि बस्नेत ११ जनाको सूचीमा अटाएनन् । सम्भवतः अबको अर्को बढुवामा समेत बस्नेतलाई छुटाइने निश्चित छ ।
बस्नेतको ब्याचमेट सिद्धित्रिवmम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भइसकेका छन् भने सुशिल सिंह राठौर, उमा चतुर्वेदी, डम्बर विक, हिमालय कुमार श्रेष्ठहरुलगायत नायब महानिरीक्षक (डिआईजी) भइसकेका छन् ।
