काठमाडौं । भारतबाट भागेर नेपाल आएका सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का दिदीवहिनी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल बिहीबार बिहान भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे, सिन्टिटारस्थित डेरामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
उनीहरूले आत्महत्याअघि आफ्नै मोबाइल प्रयोग गरी सेल्फीमोडमा आत्महत्या तयारीका फोटो खिचेका थिए । एउटै डोरीमा पासो लगाएको अवस्थामा उनीहरूले मोबाइलबाट फोटो खिचेर त्यसै आधारमा टिकटक भिडियो बनाएका थिए । उनीहरू प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी बाँधेर डोरीको दुई भागमा एक–एकजना झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
भिडिओमा ‘मरेर गए नि नतोडिने बन्धन माया हो‘’ भन्ने गीत प्रयोग गरिएको पाइएको छ । भक्तपुर प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा आत्महत्याअघि कैयौँ तस्बिर र भिडियो भेटिएको जानकारी दिएको छ । भिडिओ खिचेपछि तुरुन्तै उनीहरू अफलाइन भएका थिए । उनीहरूको अनुहारमा कुनै भय वा पीडाको संकेत नदेखिने र सजिलै पासो लागाउने शैलीमा फोटो खिचिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दिदीबहिनीका बाबुआमा रोजगारीका सिलसिलामा भारतमा छन् । उनीहरू आफैँ भारतबाट भागेर केही दिनअघि काठमाडौं आएका थिए । मुम्बईबाट कम्प्युटर क्लास जान भनेर उनीहरू निस्किएको परिवारले जनाएको छ । कलंकीमा बस्ने आफन्तकहाँ समेत नगएर भक्तपुरमा बसेका उनीहरूको मृत्युका बारेमा जानकारी पाउनासाथ प्रहरी र आफन्त घटनास्थल पुगेका थिए ।
शव बुझ्न पुगेकी कान्छीआमाका अनुसार, दुवै छोरी हराएपछि भारतमै मिडियामार्फत ‘मिसिङ’ सूचना प्रवाह गरिएको थियो । उनीहरू कसरी नेपाल आए भन्नेबारे परिवारलाई अत्तोपत्तो थिएन । मृत्यु हुनुअघि दिदीबहिनीले फेसबुकबाट आफन्तहरूलाई समेत ब्लक गरेका थिए, जसका कारण उनीहरू कहाँ छन् भन्ने थाहा पाउन सकिएको थिएन ।
घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले आत्महत्याको कारण खुल्न बाँकी रहेको जनाएको छ । मोबाइल, टिकटक भिडिओ, सामाजिक सञ्जाल प्रयोग र परिवारको पृष्ठभूमिका आधारमा थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
