एरिस्टोटल भनेका छन्– ‘हामी सामाजिक प्राणी हौं । सामाजिक हुनुको अर्थ समाजमा बस्छौं । समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा, विषयहरू हुन्छन् । त्यस विषयमा निर्णय कसले लिन्छ ? त्यो निर्णय लिने व्यक्ति वा संस्था नै नेतृत्व हो ।’
हो एरोस्टोटलका भनाइअनुसार गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान उपाध्यक्ष सुभाष लामिछाने अब एनआरएनए जापानको नेतृत्व लिन खोजिरहेका छन् । जबकी लामिछाने त्यस्ता व्यक्ति हुन्, जसको सामाजिक मुद्दा र विषयहरुमा राम्रो ज्ञान समेत छ ।
समाजमा हुने सामाजिक मुद्दा र विषयहरूमा राम्रो अनुभव बटुलेका युवा व्यवसायी तथा समाजसेवी लामिछानेले एनआरएनए जापानको २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चुनाव आउँदो जुलाई २७ तारिखमा हुँदैछ अर्थात ३ दिनपछि ।
लामो समयदेखि जापानमा रहेर समाजसेवामा पूर्ण रूपमा समर्पित लामिछाने पर्वत जिल्लाको कुश्मामा जन्मिएका लामिछाने नेपालमा ‘ब्याचलर इन म्यानेजमेन्ट’को अध्ययन पूरा गरी सन् २००७ मा जापान आएका हुन् ।
सन् २०११ देखि जापानमा रेस्टुरेन्ट व्यवसाय सुरु गरेका लामिछानेले आफ्नो जीवनका विभिन्न कालखण्डमा जापान र नेपालबीच सम्बन्ध सेतुको काम गर्दै आएका छन् । नेपालमा गएको विनाशकारी भूकम्पका बेला सहयोगदेखि जापानमा आइपर्ने विभिन्न समस्याहरूमा समेत उनी सक्रिय रूपमा देखिएका थिए ।
गैर–आवासीय नेपाली संघको प्रत्येक अभियानमा महत्त्वपूर्ण योगदान दिएका लामिछानेले सन् २०१९ देखि २०२१ सम्म एनआरएनए सदस्य, सन् २०२१ देखि २०२३ सम्म प्रवक्ता र हाल सन् २०२३ देखि २०२५ सम्म उपाध्यक्षको पदमा रही कार्य गरे ।
पर्वत समाज जापानको अध्यक्ष समेत रहेका लामिछानेले जापानमा हुने विभिन्न नेपाली कार्यक्रमहरू र सामाजिक कार्यहरूमा उल्लेखनीय योगदान पुर्याएका छन् । जसले गर्दा निर्णय लिनसक्ने क्षमताका लामिछानेले एनआरएनए जापानको नेतृत्व लिन खोजेका हुन् ।
त्यतिमात्र नभएर जापानमा नेपालीहरुको गौरवको योजनाका रुपमा रहेको नेपाल हाउस निर्माणको बागडोर सम्हाल्ने हुटहुटी बोकेका उनी यसको पहलकदमीमा निरन्तर लागिरहेका छन् । निवर्तमान अध्यक्ष नविन निउरेको कार्यकालमा घोषणा गरिएको थियो नेपाल हाउस निर्माण ।
निउरेले थालनी गरेको नेपाल हाउस निर्माण कार्यलाई सम्पन्न गर्ने आफ्नो जिम्मेवारी भएको लामिछाने बताउँछन् । एनआरएनए जापानमा समन्वयकारी सहजकर्ताको भूमिका निर्वाह गरी संस्थाको साखमा कुहिरो लाग्न नदिने समेत उनको दावी छ ।
उनी भन्छन्, ‘यसअघिका अध्यक्षको अथक प्रयासले सार्थकता पाएको अनुभूति हुन्छ, जसले गर्दा आज संस्था यस ठाउँमा आइपुगेको छ । संस्थालाई राजनैतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गरी जापान जस्तो देशमा सभ्य र सुसंस्कृत एवं एकताबद्ध नेपाली समाज निर्माणका लागि भूमिका खेल्नु मेरो कर्तव्य हो ।’
उनी थप्छन्, ‘नेतृत्व भनेको अनुशरण गर्ने, सिक्ने, नक्कल गर्ने विषय पनि हो । त्यसैले मेरो कार्यकालमा यसअघिका अध्यक्षहरुले गर्नुभएका राम्रा कामहरुलाई अनुशरण गर्नेछु भने नराम्रा कामहरुलाई आफ्नो कार्यकालमा जरैदेखि उखेलर फाल्नेमा तपाईहरुलाई ढुक्क हुन आग्रह गर्दछु ।’
के भन्छन् लामिछाने ?
एनआरएनए जापानलाई अझ बढी समावेशी, पारदर्शी र जवाफदेही बनाउने पहिलो कर्तव्यको रुपमा सम्झिएको उनी सुनाउँछन् । संस्थाको विधानलाई समयसापेक्ष परिमार्जन गरी सबै सदस्यहरूलाई समेट्ने उनले आफ्नो चुनावी घोषणापत्रमा लेखेका छन् ।
त्यसैले यस पटकको एनआरएनए जापानको अध्यक्षका लागि नेपाली समाजले आफूलाई अनुमोदन गर्नेछ भन्ने विश्वाश लिएको लामिछानेले बताए । जापानबासी नेपालीहरुमा रहेको एनआरएनएप्रतिको आस्था र भरोसालाई कायम राखी सबैलाई अपनत्व महसुस हुने गरी एनआरएन जापानलाई जनस्तरमा स्थापित गराउनु आफ्नो प्रमुख दायित्व रहेको लामिछानेको बुझाई छ ।
अध्यक्ष पदका प्रत्यासी लामिछानेले एनआरएनएको अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई नेतृत्व दिन आफू सक्षम रहेकोले साथ र सहयोगका लागि जापानबासी नेपालीलाई अनुरोध समेत गरेका छन् ।
सामाजिक सेवामा मेरो दक्षता र अनुभवलाई एनआरएनए जापानको संस्थागत सुदृढीकरण र समाजिक अभियानमा जोडर जापानबासी नेपालीहरुमा रहेको एनआरएनएप्रतिको आस्था र भरोसालाई कायम राखी सबैको अपनत्व हुने गरी एनआरएन जापानलाई जनस्तरमा स्थापित बनाउनु अहिलेको आफ्नो अभियान रहेको उनले बताए ।
अत्यन्तै मिजासिला र भद्र लामिछानेलाई जापानमा रहेका धेरै नेपाली संघ संस्थाहरुको समर्थन रहेको छ । लामिछानेलाई बिगतका कार्यकालमा गरेको काम र उनको स्वभावका कारण नै जापानबासी नेपालीहरुले अत्याधिक मन पराएको पाइएको छ ।
यस्तो छ लामिछानेको प्रतिबद्धता
जापानमा रहेका नेपालीहरूका लागि आपतकालीन सहयोग, स्वास्थ्य सेवामा पहुँच, र कानुनी परामर्श जस्ता विषयमा विशेष जोड दिने। रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुधार गर्न पहल गर्ने ।
नेपालको पर्यटन प्रवर्द्धन, लगानी आकर्षित गर्ने, र नेपालमा प्राकृतिक प्रकोप लगायतका आपतकालीन अवस्थामा सहयोग जुटाउने कार्यमा सक्रिय भूमिका खेल्ने ।
युवा तथा महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने । विद्यार्थी र नयाँ आउनेहरूलाई जापानमा स्थापित हुन सहयोग गर्ने ।
नेपालको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने । जापानी समाजसँग सांस्कृतिक आदानप्रदान कार्यक्रमहरू आयोजना गर्ने ।
एनआरएनएका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने ।
