काठमाडौं । प्रहरी प्रधान कार्यालयले आरोपीहरुको तस्वीर तथा भिडिओहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई परिपत्र गरेको छ ।
५ साउनमा प्रहरी कार्यालयहरुलाई परिपत्र गर्दै प्रेस मिट गर्दा वा सञ्चारमाध्यम सूचना मेल गर्दा पनि पक्राउ परेका आरोपीहरुको कुनै पनि तस्वीर तथा भिडियो सार्वजनिक नगर्न भनिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा नायब महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले पनि आरोपीको तस्वीर र भिडियोहरु सार्वजनिक नगर्न भन्दै परिपत्र गरिएको पुष्टि गरे ।
१९ असारमा महान्यायाधिवक्ता कार्यालयले आरोपितहरुको तस्वीर र भिडियो सार्वजनिक गर्न नहुने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराइएको थियो ।
सोही अनुरुप महान्यायाधिवक्ता कार्यालयको निर्णयपछि प्रधान कार्यालयले तस्वीर, भिडियोहरु सार्वजनिक नगर्न भन्दै प्रहरी कार्यालयलाई परिपत्र गरेको हो । जसकारण अबदेखि भने आरोपीको तस्वीर, भिडियोहरु सार्वजनिक नहुने भएको छ ।
