काठमाडौं । ललितपुरको चापागाउँका २६ वर्षीय रिनेश घिमिरेको आत्महत्या प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत १५ साउनमा घिमिरेले आफ्नो फेसबुकमा भावुक स्टाटस र तस्बिर पोस्ट गरेर आत्महत्या गरेका थिए । घिमिरेले लेखेका थिए, ‘बाउ–आमाको बुढेसकालको साहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभकामना अनि धेरै माया । अलबिदा ।’
स्टाटस लेखेको १५ मिनेटमै उनी चापागाउँको टौखेलस्थित आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । ललितपुरको महालक्ष्मीस्थानमा मोबाइल पसल सञ्चालन गर्दै आएका घिमिरेको आत्महत्याको कारण प्रेमिकासँगको मनमुटाव भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार, घिमिरेले फेसबुकमा उल्लेख गरेकी युवती दोलखाकी सुप्रिया खड्कालाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार, घिमिरेको फेसबुक पोस्ट सामाजिक सञ्जालमा भाइरल भएपछि खड्कालाई सम्पर्क गरिएको थियो । उनी आफैं प्रहरी वृत्त चापागाउँ पुगेकी थिइन् ।
प्रहरीको अनुसार रिनेश र सुप्रियाबीच लामो समयदेखि प्रेमसम्बन्ध थियो, तर पछिल्लो समय खटपटका कारण घिमिरेले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
हाल सुप्रिया र रिनेशका भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन् । काठमाडौंको बालाजु बस्दै आएकी सुप्रियाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान अघि बढाएको छ ।
