कास्की । पोखरामा झण्डै १० महिनाअघि सडकछेउमा फालिएको नवजात शिशुको शव प्रकरणमा संलग्न अभियुक्त बाबुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९, नागढुंगा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछाने छन् ।
सुत्केरी व्यथा लागेकी श्रीमतीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन लैजाँदा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
०८१ असोज १३ गते साँझ ५ बजे पोखरा–१४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलाभित्र फलाटिनको कपडाले बेरी, रातो गुलाबी रंगको ब्लाङ्केटमा बेरेर फालिएको नवजात शिशुको शव फेला परेको थियो ।
शवको पोस्टमार्टम गर्दा शिशुको टाउको र घाँटीमा गम्भीर चोट रहेको पुष्टि भएको थियो, जसको कारण मृत्यु भएको अनुसन्धानले देखाएको थियो । प्रहरीले त्यसपछि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो ।
लगभग १० महिनासम्म फरार रहेका लामिछानेलाई उनकी श्रीमतीलाई अस्पताल ल्याउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रारम्भिक बयानमा लामिछानेले नवजात शिशुलाई आर्थिक अभावका कारण पाल्न नसकिने भन्दै जबर्जस्ती फालेको स्वीकार गरेका छन् । उनले श्रीमतीको असहमति हुँदाहुँदै आफैंले जबरजस्ती शव सडकछेउमा फालेको बताएका छन् ।
घटना शिशु जन्मिएर अस्पतालबाट डिस्चार्ज भएको केही दिनमै घटाइएको खुलेको छ । लामिछानेलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
