काठमाडौं । धारिलो हतियार खुँडा देखाएर स्थानीय बासिन्दालाई आतंकित बनाएका एकजना पक्राउ परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारी हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लौडारीले मदिरा सेवन गरी होहल्ला गर्दै स्थानीयलाई ज्यान मार्ने धम्की दिएका थिए । उनले भानु नगरपालिका–१२ का बलराम अधिकारी र भानु नगरपालिका–१३ का अशोक अधिकारीको घरमै पुगेर खुँडा प्रहार गर्ने प्रयाससमेत गरेका थिए ।
पीडित परिवारका अनुसार, उनीहरू राति ढोका थुनेर घरभित्र लुकेर ज्यान जोगाउन सफल भएका थिए । लौडारीले खुँडाले घरमा झटारो हानेको र छिमेकीहरूले गुहार मागेपछि प्रहरीले सूचना पाएको थियो ।
प्रहरी पुगेपछि लौडारी फरार भएका थिए भने केही घण्टापछि भानु नगरपालिका–२ नारेश्वाटारस्थित इलाका प्रहरी कार्यालय भानुले उनलाई पक्राउ गरी हिरासतमा राखेको हो ।
पक्राउ परेका लौडारी हाल काठमाडौंमा बसोबास गर्दै आएका थिए र उनी रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलन अभियानका लागि आफ्नो जन्मगाउँ पुगेका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
