काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।
ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरू बसेको होटलबाट दुई किलो सुन बरामद भएको कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
सुनसहित चिनियाँ नागरिकहरू रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो ।
उक्त टोलीले एक जना पुरूष र महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जना प्रेमी–प्रेमिका भएको खुलेको पनि प्रहरीले जनाएको छ । पुरूष थान डेढ महिना अघि काठमाडौं आएका थिए भने उनकी प्रेमिका केही दिन अघि मात्रै काठमाडौं आएको प्रहरीले जनाएको छ ।
सुन बरामद भएपछि प्रहरीले मंगलबार बिहान परीक्षण समेत गरेको थियो । सुन पुष्टि समेत भइसकेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान गर्न उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।
