काठमाडौं । नेकपा एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कन नहुने बताएका छन् ।
नेकपा एमालेको जारी केन्द्रीय समिति बैठक परिसरमा जम्मा भएका सञ्चारकर्मीहरूसँग नेता गौतमले यस्तो भनेका हुन् । उनले भण्डारी सेनाको परमाधिपतिसमेत भइसकेको व्यक्ति भएकाले राजनीतिमा फर्कन नहुने बताए ।
पूर्वराष्ट्रपति पार्टीमा फर्कने कुरा एमालेको मात्र विषय नभएर समग्र देशकै विषय भएकाले एमालेले मात्र यसको निर्णय नगर्ने पनि बताए ।
‘उहाँ देशको प्रमुख भइसकेको तथा सेनाको परमाधिपति भइसकेका कारण राजनीतिमा फर्कने कुरा एमाले एक्लैले निर्णय गर्न सक्दैन,’ गौतमले भने ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको विषयले चासो पाएको छ । नेताहरुले पक्ष र विपक्षमा आफ्नो धारणा राखेका छन् ।
