जनकपुर । पुरानो प्रेम सम्बन्धमा धोका, ब्ल्याकमेल र मानसिक तनाव दिन थालेपछि जनकपुरमा एक किशोरीले आफ्नै प्रेमीको छुरा प्रहार गरी हत्या गरेको खुलासा भएको छ ।
जनकपुरस्थित एक होटलमा महोत्तरी पर्सा गाउँपालिका–१ निवासी ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा पक्राउ परेकी महोत्तरीकै बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीया जुली झालाईलाई सार्वजनिक गर्दै प्रहरीले यस्तो खुलासा गरेको हो ।
विमलेश यादवको हत्याको पछाडि प्रेम सम्बन्धमा आधारित ब्ल्याकमेल र प्रतिशोध देखिएको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहका अनुसार यादव र झाबीच पहिले प्रेम सम्बन्ध थियो ।
पछि विमलेशले झालाई धोका दिँदै अर्कैसँग विवाह गरे । तर, विवाहपछि पनि उनले झासँग सम्बन्ध कायमै राख्न दबाब दिन थालेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, विमलेशले पुराना म्यासेज, फोटो र भिडियोहरू देखाउँदै सम्बन्धमा नरहे ती सामग्री सार्वजनिक गर्ने धम्की दिने गरेका थिए । यसै तनावका कारण झाले विमलेशमाथि आक्रोश व्यक्त गर्दै हत्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
धनुषा प्रहरीका अनुसार, दुवैबीच पुरानो सम्बन्ध थियो । तर युवक विवाहित भएर पनि अझै त्यो सम्बन्ध कायम राख्न चाहन्थे । जब ब्ल्याकमेल र धम्कीको स्थिति आयो, त्यसपछि तनावले हिंसात्मक रूप लिएको देखिन्छ ।
प्रहरीले झामाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । साथै, डिजिटल प्रमाण (फोन, म्यासेज, भिडियो) र घटनास्थलका अन्य प्रमाणहरूका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
