काठमाडौं । नेपाल प्रहरीमा करिब दुई महिनादेखि रोकिएको बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा आज निकाल्ने तयारी भइरहेको छ । रिक्त रहेका एसएसपी, प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डिएसपी) पदमा एकैपटक सिफारिसको तयारी भएको हो ।
बढुवा समितिका अध्यक्ष सचिव गोकर्णमणि दुवाडी र सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की सोमबारदेखि भारत भ्रमणमा जाने भएकाले आजै निकाल्ने तयारी भइरहेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र एआईजी कार्की बढुवा सूचीको फाइल बोकेर गृह मन्त्रालय गएका छन् । प्रहरी नियमावलीअनुसार ७ साउनभित्र बढुवा गरिसक्नुपर्ने कानुनी बाध्यता छ ।
७ साउनसम्म बढुवा सिफारिस हुन नसकेमा असोजपछि मात्र बढुवा गर्न मिल्छ । त्यसपछि आर्थिक वर्ष २०८/र८२ को कार्यसम्पादन मूल्याङकन समेत जोडेर बढुवा गर्नुपर्ने हुन्छ ।
एसएसपी बढुवाका ११ पदमा ३३ एसपीबिच प्रतिस्पर्धा छ । जसकारण २ वटा एसएसपीको दरबन्दी थपेर बढुवाको गृहकार्य भइरहेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोमा हालै स्थापना भएको आर्थिक अपराध अनुसन्धान महाशाखामा एक एसएसपीको दरबन्दी थप्ने प्रयास भइरहेको छ । त्यस्तै प्रहरीको एमटीतर्फ रिक्त रहेको एसएसपी पदलाई पनि स्थानान्तरण गरेर बढुवा निकाल्ने सम्भावना छ ।
