काठमाडौं । उदयपुरका १५ वर्षीय एक बालकको पेटमा अड्किएको कैंची शल्यक्रिया गरेर निकालिएको छ । खेल्ने क्रममा बालकले निलेको कैंची सानो आन्द्रासम्म पुगेको थियो । विराटनगरस्थित नोबेल मेडिकल कलेज चिकित्सकले शल्यक्रिया गरेर उक्त कैंची निकालेका छन् ।
नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार बालकलाई असार १७ गते अस्पतालमा भर्ना गरिएको थियो । ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियाबाट पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया सफल भएपछि बालक सामान्य अवस्थामा घर फर्किएका छन् ।
परिवारका अनुसार बालक घरमा टिभी हेर्दै गर्दा मुखमा खेलाइरहेको सानो कैंची अचानक घाँटीभित्र प्रवेश ग¥यो । बालकले ‘कैंची अड्कियो’ भन्दै चिच्याएपछि हजुरबुबाले झिक्न खोज्दा झन् भित्रतिर पुगेको थियो ।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बालकलाई नोबेल मेडिकल कलेज ल्याइएको थियो । त्यतिबेला सम्ममा कैंची पेटमा पुगिसकेको थियो । गम्भीर अवस्थामा भर्ना भएका बालकको शल्यक्रिया नोबेल अस्पतालका ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको टिमले गरेका थिए ।
अस्पतालका अनुसार कैंची बालकको सानो आन्द्रासम्म पुगेको थियो । अत्यन्त संवेदनशील शल्यक्रिया भए पनि चिकित्सकहरूको प्रयासले बालकलाई सफलतापूर्वक जटिल अवस्थाबाट बचाइएको हो ।
