काठमाडौं । धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासस्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत शिक्षिका विमला मोक्तान ध्रोञ्चिङ्ग (तामाङ) ले आफूले पढाउने बालविकास कक्षामै झुन्डिएर आत्महत्या गरेकी छन् ।
साउन १ गते विहान योग गर्न गएका स्थानीयले कक्षाभित्र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । करिब ३० वर्षीया विमला तामाङले आत्महत्या गर्नुको कारण सुसाइड नोटबाट खुल्न थालेको छ, तर प्रहरीले उक्त पत्र सार्वजनिक गरेको छैन ।
प्रारम्भिक अनुसन्धान अनुसार उनी लामो समयदेखि मिटरब्याज (सूदखोरी) को चपेटामा परेकी थिइन् । प्राप्त विवरणअनुसार मृतक विमलाले जनकपुर उपमहानगरपालिका–९ निवासी राजकिशोर यादवसँग दुई पटक ऋण लिएकी थिइन् ।
पहिलो पटक १ लाख ६० हजार रुपैयाँ र दोस्रो पटक १ लाख ५० हजार गरी ३ लाख १० हजार ऋण लिएकी उनले उक्त ऋणको व्याज र मूलधनका रुपमा करिब ४५ लाख रुपैयाँ तिरिसकेको उल्लेख सुसाइड नोटमा छ।
स्थानीयले बताएका अनुसार १५ लाख रुपैयाँ त उनले आईएमई मार्फत पठाएको प्रमाणसहितका भौचर फेला परेका छन् । बाँकी ३० लाख भने नगदमा किस्ताबन्दीमा बुझाएको पनि सुसाइड नोटमा उल्लेख छ ।
तर त्यसपछि पनि राजकिशोरले अझै ५० लाख रुपैयाँ बाँकी रहेको भन्दै उनलाई बारम्बार मानसिक दबाब दिँदै ब्ल्याकमेलिङ गर्दै आएको आरोप सुसाइड नोटबाट खुलेको स्थानीयको भनाइ छ ।
स्थानीय स्रोतका अनुसार असार ३२ गते राजकिशोर यादव आफ्ना परिवारसहित गाडीमा चढेर विमलाको घर पुगेका थिए । त्यही दिन विमलामाथि धम्की र मानसिक यातना दिइएको र त्यसको असरस्वरुप उनले राति आत्महत्या गरेको आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरले शवको मुचुल्का तयार गर्दै अनुसन्धान गर्दा कक्षाभित्रै सुसाइड नोट फेला परेको थियो । तर, सुसाइड नोटको विवरण भने सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बरुण वहादुर सिंहले ‘सेन्सेटिभ मुद्धा’ भएको भन्दै अनुसन्धानको विषयमा बोल्न मानेनन् ।
सुसाइड नोटकै आधारमा प्रहरीले राजकिशोरलाई पक्राउ गरेको छ । तर, उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन । सामान्यतः प्रहरीले यस्ता घटनाबारे प्रेस विज्ञप्ति जारी गरेर पत्रकारलाई इमेलमार्फत जानकारी दिने गर्छ ।
तर, यो घटनाको चार दिन बितिसक्दा पनि प्रहरी प्रशासन मौन छ । यसले शंका उत्पन्न गराएको छ ।
स्थानीय नागरिक र मानवअधिकारकर्मीहरुका अनुसार यस घटनामा राजनीतिक संरक्षणको गन्ध आएको छ । पक्राउ परेका राजकिशोर यादवलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राख्नुपर्नेमा उनलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको छ । ढल्केवर प्रहरीका इन्स्पेक्टर जटाशंकर यादवले जिल्ला नै मुद्दा हेरिरहेको पुष्टि गरे ।
यसरी इलाका प्रहरीले हेर्नुपर्ने मुद्धामा जिल्ला प्रहरी कार्यालयको हस्तक्षेप र अपारदर्शिता देखिँदा राजनीतिकसंरक्षणको आशंका गरिएको हो । यद्यपि, डिएसपी सिंहले ‘राजनीतिक हस्तक्षेपको सम्भावना छैन’ भन्दै अनुसन्धान संवेदनशील रूपमा भइरहेको बताए ।
सुसाइड नोटको वैधानिकताका विषयमा गम्भीर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
के छ विमलाको अन्तिम सन्देश ?
सुसाइड नोटमा विमलाले आफ्नी छोरीलाई सम्बोधन गर्दै ‘बुबा र भाइको हेरचाह गर’ भनेर लेखेकी छिन् । यो वाक्यले उनको मानसिक पीडा, असहाय अवस्था र आत्मघातको कठिन निर्णयको अन्तिम मनोदशालाई उजागर गर्छ ।
विमलाका श्रीमान् घनबहादुर ध्रोञ्चिङ्ग एक वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । उनका करिब १५ वर्षीया छोरी र करिब ३–४ वर्षका छोरा छन् । छोरा अटिजमबाट पीडित छन् भने अहिले दुवै सन्तान हजुरआमाको संरक्षणमा छन् ।
एक शिक्षिकाले कक्षा कोठामै आत्महत्या गरेको यो घट्नापछि दोषीलाई कानुनी दायरामा ल्याउन दबाब भने बढेको छ ।
