रौतहट । रौतहटको कटहरिया नगरपालिका–५ कटहरिया गाउँ घरभएका पत्रकार रवीन्द्र प्रजापति घरायसी विवादको कारण झुण्डिएर आत्महत्या गरेका छन् । ३० वर्षीय पत्रकार प्रजापति शनिबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा फेलापरेका थिए।
उनको बुवा हरी पण्डितलगायत परिवारको मानिसले तत्कालै पासो काटेर उपचारको लागि ग्रान्डी अस्पताल गरुडामा लागेका थिए। तर अस्पतालका डाक्टरले प्रजापती लाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक पत्रकार प्रजापतिको शव राती नै पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर लागिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।
लामो समयदेखि पत्रकार प्रजापतिको दाम्पत्य जीवन तनावपूर्ण गुजरी रहेको थियो। उनको बिहे भएदेखिनै उनी र उनको श्रीमती बीच वादविवाद झैझगडा हुँदै आएको थियो।
दुईजनाको विवाद महिला तथा बालबालिका सेवाकेन्द्र गरुडादेखि जिल्ला प्रहरी कार्यालय रौतहटसम्म पुगेको थियो । प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत रहेर रेडियोमा समाचार लेखन तथा वाचन गर्दैआएका थिए। उनी पत्रकारिताबाट सन्तुष्ट थिएनन्।
उनी वैदेशिक रोजगारीका लागि बाहिर जान दुईलाख भन्दा बढी रुपैयाँ एकजना एजेन्टलाई दिएका थिए। तर ती एजेन्टको बदमासीको कारण बाहिर जान नसकेको मृतक प्रजापति बताउँदै आएका थिए।
उनको दम्पती बीचको विवाद मिलाउन स्थानिय कयौँ पत्रकारले समेत पहल गरेपनी समस्या समाधान हुनसकेको थिएन। उनका निकटतम एकजना पत्रकारका अनुसार विगतमा वैदेशिक रोजगारीमा मलेसिया काम गरिसकेका प्रजापती पुनः मलेसिया जान खोजिरहेका थिए।
साथीहरु संग सापटी लिएर करिब दुईलाख रुपैयाँ बुझाएका एजेन्टले बदमासी गरेपछि उनी अर्को एजेन्टमार्फत जान खोजेका थिए। सोही क्रममा केहीदिन अघि उनी काठमाडौं गएर मेडिकल गराउँदा उनको छातीमा दाग देखिएपछि प्रजापती निकै तनावमा रहेको उनको निकटतम साथीले नाम प्रकाशित नगर्ने सर्तमा बताए ।
एकातर्फ मेडिकल फेल, अर्को तर्फ साथीहरुसंग सापटी, पारिवारिक तनाव र मेयर अजय प्रकाश जैसवालका मानिसको धम्की झेल्न नसकेर शनिबार राती प्रजापतिले आत्महत्या गरेको उनको भनाई रहेको छ।
कटहरिया नगरपालिकाको खानेपानी समस्याबारे समाचार लेखेपछि मेयर अजयप्रकाश जयसवालबाट गालीगलौज र धम्कीपछि प्रजापती डिप्रेशनमा परेको कैयौँ स्थानीयले बताए पनि डिएसपी कार्कीले आत्महत्या गर्नुको कारण मेयरको धम्की थियो भन्ने पुष्टि नभएको बताएका छन् ।
गत जेठ २९ गते कटहरिया म्यूजिकल एफएमका साचारवाचक शागर ठाकुर र रविन्द्र प्रजापतिमाथि कटहरियाका मेयर अजय प्रकाश जैसवालले दुर्व्यवहार गरेको भन्दै छानबिनका लागि प्रेस चौतारी रौतहट शाखाले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनसँग छानबिन र दोषीमाथि कारबाहीको माग गरेको थियो ।
तर उक्त घटनापछि पत्रकार ठाकुर मौन बसेका छन् भने पत्रकार प्रजापती पनि सामान्य अवस्थामा दैनिक कार्य गर्दै आएका थिए।
ईलाका गरुडाका डिएसपी कार्कीले पत्रकारले आत्महत्या गर्नुको कारण घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । तीन बर्षअघि गौर नगरपालिका सबगढा गाउँमा विवाह भएका प्रजापतिको दुई वर्षकी एक छोरी रहेको छ।
उनको मृत्यु पछि उनको श्रीमतीलगायत ससुराली पक्षले वास्ता नगरेको उनको परिवारको गुनासो रहेको छ।
