काठमाडौं । प्रहरीले बुद्धचित्त चोरी गर्न घरधनी कृष्णबहादुर मार्फामाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ छन् । उनीहरूबाट ९९ वटा काँचो बुद्धचित्तको दाना बरामद गरिएको प्रहरीले जनाएको छ ।
शनिबार राति सवा २ बजेतिर ललितपुरको गोदावरी नगरपालिका–७ गुरूङचुले गैरीडोलीमा रहेको बुद्धचित्तको रूखबाट दाना चोर्न आएका चोरहरुले सिसिटिभी तार काटेर चोरी सुरु गरेका थिए ।
तर, कुकुरको भुकाइपछि घरधनी मार्फा बाहिर निस्किए । त्यतिबेला समूहले उनीमाथि खुकुरी प्रहार गरी घाइते बनाएर बुद्धचित्तको दाना चोरेर फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार घरधनीको दायाँ हातमा चोट लागेको छ र उनीलाई आनन्दवन अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
उनको हातमा पाँच वटा टाँका लागेको छ र उनी अहिले डिस्चार्ज भइसकेका छन् । घटनापछि आइतबार बिहान ५ बजे प्रहरी वृत्त चापागाउँको टोलीले तीन जना संलग्नलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू आपराधिक पृष्ठभूमि बोकेका छन् । प्रतिमान गोले यसअघि मोटरसाइकल चोरीमा संलग्न देखिएका थिए भने बुद्ध तामाङ सुनको चेन लुटपाटमा संलग्न रहेको तथ्य फेला परेको छ ।
