काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि विश्वासिलो आधार तयार गर्न सुझाव दिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणापछि एमालेमा पक्ष र विपक्षमा बहस चलिरहेको छ ।
शनिवार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा बोल्दै नेता बास्कोटाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीलाई छलफल गरेर विवाद टुङ्ग्याउन आग्रह गरे ।
‘अध्यक्ष र पूर्वराष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेका साथीहरूलाई मात्र होइन, संसारलाई थाहा छ,’ उनले भने, ‘तपाईँहरूले आपसमा छलफल गरेर राजनीतिक ढङ्गले यो विषय सुल्झाउनुपर्छ, प्राविधिक कुराले होइन ।’
बास्कोटाले दोस्रो पुस्ताका नेताहरूलाई पनि विवाद समाधानमा भूमिका खेल्न आग्रह गरे । ‘दोस्रो पुस्ताका हौँ भन्नेहरूले मिलाउने क्षमता देखाउनुस् । तपाईँहरूसँग हामी पनि प्रतिस्पर्धा गर्न सक्षम र तयार छौँ,’ उनले भने ।
उनले अहिलेको संवेदनशील समयमा पार्टीभित्र कसैले पनि झटारो हान्ने काम नगर्न सुझाव दिए । केन्द्रीय कमिटीको बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।
