काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीलाई कमजोर पार्ने काम बन्द गर्न आग्रह गरेका छन् । एमालेको जारी पोलिटब्युरो बैठकमा शनिबार आफ्ना कुरा राख्दै बस्नेतले यस्तो आग्रह गरेका हुन् ।
‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौँ,’ बस्नेतले भने । उनले आफूले बैठकमा राखेको धारणा फेसबुकमार्फत सार्वजनिक पनि गरेका छन् ।
‘विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनुभएको व्यक्ति हो। सक्रिय पार्टी पङतिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ती गर्नुहुन्न,’ बस्नेतले भनेका छन्, ‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन । पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।’
यस्तै भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दा पूर्व राष्ट्रपतिको हैसियत के हुन्छ ? भनेर प्रश्न पनि गरेका छन्। ‘नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन ? यती गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्दछ,’ बस्नेतले भनेका छन् ।
नेकपा एमालेको पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नवीकरणका विषयमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन् । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै सकाउन ‘रुलिङ’ गरेका र सोहीअनुसार नेताहरूले धारणा राखेको बताइएको छ ।
