काठमाडौं । ‘मान्छेले पाउँदा के गर्नसम्म पछि हट्दैन’ भन्ने उदाहरण पछिल्लो समय नुकोटको तार्केश्वर गाउँपालिका–५ स्थित शंखादेवी माध्यमिक विद्यालयमा देखिएको छ ।
विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारीले जागिर छाडेर विदेश पुगेका लेखापालको दस्तखत प्रयोगगरी विद्यालयको नामबाट बैंकिङ कारोबार गरेको पाइएको छ ।
आर्थिक अनियमितता गरेको तथ्य बाहिर आएपछि प्रधानाध्यापक अधिकारी विवादमा तानिएका छन् । ६ महिनाअघि राजीनामा दिएकी लेखापाल अनिता तामाङको हस्ताक्षरमा ’स्यालरी सिट’ बनाएर प्रधानाध्यापकले कर्मचारीलाई तलब खुवाएको पाइएको हो ।
लेखापाल तामाङले गत वर्ष फागुन १ गते पदबाट राजीनामा दिएकी थिइन् । व्यक्तिगत समस्याले गर्दा विद्यालयमा कार्यरत रहन नसक्ने व्यहोरासहितको राजीनामा पत्रमा लेखापाल तामाङले प्रधानाध्यापक अधिकारीलाई सम्बोधन गरेकी छन् । जुन पत्र हर्नुहोस् ।

तामाङ अहिले लण्डनमा छिन् । तर, उनैको हस्ताक्षरमा हिमालयन बैंकको तारकेश्वर शाखालाई पत्र लेखेर कर्मचारीलाई वैशाख र जेठ महिनाको तलव–भत्ता दिएको पत्र सार्वजनिक भएको हो ।
वैशाख १९ र जेठ १२ गते बैंकको कार्यालय प्रमुखलाई सम्बोधन गरी लेखिएको दुई फरक–फरक पत्रमा कर्मचारीको नाम उल्लेख गर्दै तोके बमोजिमको रकम खातामा दाखिला गरिदिन आग्रह गरिएको छ । पत्रको अन्तिममा लेखापाल तामाङको दस्तखस्त छ तर प्रधानाध्यापक अधिकारीको छैन् ।
यस्तो पत्र सार्वजनिक भएपछि तत्कालीन लेखापाल तामाङले आफ्नो हस्ताक्षर दुरुपयोग गरेर आर्थिक अपचलन गरेको आशंका गरेकी छन् । हिमालयन बैंक तारकेश्वर शाखालाई पत्र लेखेर उनले सोबारे जानकारीसमेत गराइसकेको बताइएको छ ।
आफू विगत ६ महिनादेखि अध्ययनका लागि विदेशमा रहेको र त्यसयताको आर्थिक कारोबारमा संलग्नता नरहेको उनले स्पष्ट पारेकी छन् । जुनकुरा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन् । हेर्नुस् फेसबुकको स्क्रिनसर्ट ।

विद्यालयले प्रधानध्यापक अधिकारी र तत्कालीन लेखापाल तामाङको संयुक्त हस्ताक्षर चल्नेगरी हिमालयन बैंकमा खाता खोलेको थियो । लेखापालले जागिर छाडेर विदेश पुगेको छ महिनासम्म पनि त्यो परिवर्तन गरिएको छैन ।
