विराटनगर । वैदेशिक रोजगारीका लागि युएई पुगेको २ महिना नपुग्दै इलामको सूर्योदय नगरपालिका–७ गोगनेका ३५ वर्षीय लेखनाथ खतिवडा मृत्यु भएको छ ।
गम्भिर विरामी परेपछि अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा असार २८ गते मृत्यु भएको हो । विदेश गएर जीवन र मृत्युसँग संघर्ष गरेका लेखनाथले अन्ततः मृत्युलाई जित्न नसकेको यो घट्नाले परिवारमा शोक र छटपटी छाएको छ ।
लेखनाथ जेठ ५ गते मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा काम गर्न युएई प्रस्थान गरेका थिए। त्यहाँ पुगेको केही समयपछि (असार ८ गतेदेखि नै) नै गम्भिर विरामी परेका उनलाई स्थानीय एआई रोसिड अस्पतालमा भर्ना गरियो ।
सुरुमा सेतो रक्त कोशिकाको कमी देखिए पनि स्थिति जटिल बन्दै निमोनिया देखिएको र गम्भीर अवस्थामा आईसियूमा राखेर उपचार गरिएको थियो । अन्ततः उनको विदेशी भुमिमै असार २८ गते मृत्यु भएको छ ।
उनको उपचारमा भएको आर्थिक बोझले परिवारलाई थप कठिनाइमा पारेको स्थानीयहरु बताउँछन् । स्थानीय लिलाधर खतिवडाले भने, ‘लाखौँ रुपैयाँ सहयोग सङ्कलन गरियो, तर लेखनाथलाई बचाउन सकिएन ।’
लेखनाथको यो दुःखद निधनले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्नुपर्ने पीडा र चुनौतीहरूलाई पुनः उजागर गरेको छ ।
