काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले संसदमा उठाइएका विषयवस्तु सम्बोधन नहुँदासम्म निरन्तर प्रयास गरिरहनुपर्ने बताएका छन् । बाटो बन्नु र बिजुली बल्नु मात्र विकास होइन भन्दै उनले समग्र मानव विकास नै विकास भएको बताएका छन् ।
एक अन्तर्वार्ताका क्रममा उनले राजनीतिक प्रणालीलाई सुसंस्कृत बनाउँदै जानुपर्ने भन्दै यो कर्तव्य राजनीतिक दलहरूको भएको बताएका छन् ।
उनले भनेका छन्–‘राजनीतिक दलको आलोचना त हुन्छ, तर ती आलोचनालाई कति विनम्र बनाएर लैजाने भन्ने हुन्छ। शब्दमा विनम्रता र भावमा क्रान्तिकारी भाव राख्दा पनि आफ्नो कुरा खरो रूपमा राख्न सकिन्छ। ठूलो स्वरमा र कडा शब्द मात्रै राखेर अगाडि बढ्ने कुरा संसदीय संस्कृति होइन। त्यसमा विपक्षीको आलोचना, सरकारको आलोचना, आफ्नै आलोचना लोकतन्त्रमा स्वभाविक हो। अब राजनीतिमा परिवर्तन जरुरी छ।’
त्यसैगरी उनले कुनै पनि देशमा बलियो कानून भएमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताएका छन्। उनले भनेका छन्–‘अख्तियार दुरूपयोग अनुसन्धान ऐन, २०४८ कांग्रेस नेतृत्वको सरकारले ल्याएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ पनि कांग्रेस नेतृत्वकै सरकारले ल्याएको हो। कानून पढेर संसद्मा प्रस्तुत गर्ने कांग्रेसकै मन्त्री जेल जानुभयो। मुलुकी अपराध संहिता, २०७४ पनि कांग्रेस नेतृत्वकै सरकारबाट आएको हो। कांग्रेसले बनाएको कानुनले कांग्रेसकै नेता जेल गएका छन् नि।
भोलि मैले गल्ती गरे म पनि जेल जान्छु। तर कानून कार्यान्वयन इमान्दारपूर्वक हुनुपर्छ। आफ्नो दललाई कारबाही गर्दा ‘गलत’ र प्रतिस्पर्धी दललाई कारबाही गर्दा ‘ठीक’ भन्ने प्रवृत्ति गलत हो। कानून कार्यान्वयन गर्ने निकायले पारदर्शी रूपमा काम गर्नुपर्छ। ती निकायहरूलाई राजनीतिमुक्त गराउनुपर्छ। नेपाललाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त बनाउन समय लाग्ला, तर त्यस दिशामा प्रयास भइरहेका छन्।’
पछिल्लो समय संसदमा देखिने गरेका अवरोध र बहिष्कारका प्रवृत्तिलाई तपाईं कसरी हेर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्–‘विषयवस्तुलाई हेरेर विवेकसङ्गत रूपमा कुरा गर्दा सजिलो हुन्छ। आवेगलाई हाबी बनाउँदा यस्ता जटिलता आउने गर्छन्। अहिलेको समस्याको हल गर्नकै लागि छानबिन समिति बनाइएको छ।
भिजिट भिसा प्रकरण वर्षौंदेखि चल्दै आएको रहेछ। यसबीचमा ६ जना गृहमन्त्री बन्नुभयो। अख्तियारजस्तो संवेदनशील संस्थाले अनुसन्धान सुरू गरिसकेपछि त्यो अनुसन्धानलाई सबैले सघाएर जानुपर्छ। जो–जो दोषी देखिन्छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ। संवैधानिक अङ्गले अनुसन्धान गरेको कुरामा भरोसा गर्नुपर्छ।’
त्यसैगरी उनले गृहमन्त्रीमाथिको छानविनका बारेमा पनि बोलेका छन् । उनले भनेका छन्–‘विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ। प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन। अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।
आवेगमा आएर ‘छोड’ भन्नु वा ‘नछोड्दासम्म विरोध’ गर्नु राजनीतिक फण्डा मात्रै हो। ठगिएका मानिस सबै पार्टीका हुन्, उनीहरूले न्याय पाउनुपर्छ।
अनुसन्धान राम्रोसँग हुनुपर्छ र त्यो अनुसन्धानलाई सबै दलले सघाउनुपर्छ। कानून सक्रिय हुँदा राजनीति मौन बस्नुपर्छ। प्रतिपक्षीले प्रश्न उठाउँदा त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ। प्रश्न र गुनासो मात्रै नभई अहिले देखिएको भिजिट भिसा प्रकरणजस्तो विषय छानबिनबाट टुंगिनुपर्छ।’
