काठमाडौं । भारतको बेंगलुरुमा चोरी गरेर भागेका दुई जना कैलालीमा पक्राउ परेका छन्।
बैंगलुरुस्थित एस. रमेश बाबुको घरमा चोरी गर्नेहरु कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्टलाई कैलाली प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट चोरीका सुनका गहना समेत बरामद भएको छ।
२०२५ मे २८ मा बेंगलुरुस्थित रमेश बाबुको घरमा काम गर्दै आएका नेपाली कामदार उदय बिष्टले साथीसहित चोरी गरेका थिए। भारतीय प्रहरीको सूचनामा आधारित रही कैलाली प्रहरीले अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाका अनुसार अनुसन्धानका क्रममा ती दुवैले आफ्नो हिस्साको गरगहना कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको पत्ता लागेको छ ।
उनीहरुको साथबाट सुनजस्तो देखिने ९ थान चुरा, सुनजस्तो देखिने वस्तु ४६४ ग्राम, सुनजस्तो देखिने साना–ठूला टुक्रा २३ थान, सुन २१६ ग्राम र चाँदी ४०० ग्रामसहितका विभिन्न गरगहना, ४४ हजार १२१ भारतीय रुपैयाँ, १२ लाख ९२ हजार ३२० नेपाली रुपैयाँ र १५ हजार ४६५ बराबरका अन्य विदेशी मुद्रा बरामद गरिएको छ ।
बरामद गरिएका सामग्रीहरू बिहीबार स्थानीय जनप्रतिनिधिको रोहबरमा पीडित रमेश बाबुलाई बुझाइएको छ । घटनामा संलग्न केही अझै फरार छन्।
