काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
बुधबार केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनालमाथि कारबाही गरिएको पत्र लुम्बिनी प्रदेश समितिलाई पठाएका हुन् ।पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरिएको आरोपमा कांग्रेसका नेता डा. शेखर कोइराला निकट खनाललाई कारबाही गरिएको हो ।
२०७९ को संघीय तथा प्रदेशसभा निर्वाचनका क्रममा खनालले पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले अनुशासन समितिमा उजुरी दिएका थिए ।
यसबारे अनुशासन समितिले खनालसँग स्पष्टीकरण मागेको थियो । तर उनले दिएको जवाफ चित्तबुझ्दो नलागेको समितिको निष्कर्ष छ ।
नवलपरासीको बर्दघाट नगरपालिका–१० निवासी खनालको विषयलाई लिएर केन्द्रीय समिति बैठकमै नेता कोइराला र चौधरीबीच वादविवाद समेत भएको थियो ।कारबाही गरिएको बारे खनालले भने अहिले केही नबोल्ने बताए ।
उनले जिल्ला क्षेत्र र नगर कमिटि बैठकमा सबै विषयमा जानकारी गराउने पनि बताएका छन् ।
