काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका अभियुक्त राजन तिमल्सिना १६ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ परेका तिमल्सिना काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा लुकिछिपी बस्दै आएका थिए। उनलाई प्रहरीको निरन्तर अनुसन्धानपछि २०८२ असार २४ गते पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
मिति २०६५ पुस २ गते, काठमाडौं जिल्ला अन्तर्गतको तत्कालीन सुन्दरीजल गाविस वडा नम्बर ४ नयाँपाटी घर भएकी १४ वर्षीया एक किशोरीलाई “विवाह गर्ने” प्रलोभन देखाई तत्कालीन हाज्मा कम्पनी, सिन्धुलीमा कार्यरत पियन राजन तिमल्सिनाले भारत लगेका थिए। त्यसपछि उनलाई बेचबिखन गरिएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडितको दिदीले काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्, जसको आधारमा अनुसन्धान अगाडि बढाइएको थियो। घटनापछि तिमल्सिना फरार रहेका थिए र लामो समयदेखि प्रहरीले खोजी कार्य जारी राखेको थियो।
पक्राउ परेका तिमल्सिनालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। अदालतले असार २५ गते पाँच दिनको म्याद दिएको हो।
एसपी लालध्वज सुवेदी भन्छन्, “१६ वर्षदेखि फरार अभियुक्तलाई पक्रन प्रहरी निरन्तर प्रयासमा थियो। अन्ततः सूचनाको आधारमा गोकर्णेश्वरबाट उनलाई पक्राउ गर्न सफल भयौं। मानव बेचबिखनजस्तो गम्भीर अपराधमा संलग्नलाई कानूनको दायरामा ल्याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।”
