काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूलाई नागरिककेन्द्रित, व्यावसायिक र उत्तरदायी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट आयोजित भर्चुअल निर्देशन कार्यक्रममा सम्पूर्ण देशभरका प्रहरी इकाइहरूसँग प्रत्यक्ष संवाद गर्दै आईजीपी थापाले सो निर्देशन दिएका हुन् । उनले विगतमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । विपद्को समयमा प्रहरीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा खटिनुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक थापाले चुनौतिको रूपमा देखा परेका प्रविधिको प्रयोगबाट सिर्जित अपराध, संगठित अपराध, लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी थप सजग हुनुपर्नेमा जोड दिँदै महिला बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत वर्गमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने बताए ।
साथै उनले हिरासत व्यवस्थापन एवम् फरार प्रतिवादी पक्राउमा विशेष सक्रियता अपनाई कार्य गर्नुपर्ने समेत बताए । प्रहरी महानिरीक्षक थापाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला नियहरूसँग समन्वय गरी प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिए ।
साथै सांगठनिक नीति निर्देशनहरूको अक्षरस पालना गरी प्रहरी कर्मचारीहरूको गुनासो व्यवस्थापनमा विशेष ध्यान दिई सामूहिक भावनाको विकास गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू र विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
