काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेका हुन् । बैंक घोटालाको घटना बाहिरिएपछि फरार भएर भारत पुगेका भनिएका मिश्रलाई बाँकेको नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । मिश्रलाई नेपालगञ्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी होविन्द्र बोगटीले बताए ।
पक्राउ परेका मिश्रमाथि बैंकको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । स्रोतका अनुसार, उनी बैंकका अध्यक्ष रहेको अवधि (२०६६ देखि २०७५ सम्म) मा बैंकबाट रकम हिनामिना भएको देखिएको छ । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी पूर्व सांसद समेत हुन् ।
मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूह भन्दै उनी एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए । पछि एमालेमै प्रवेश गरेका मिश्र हाल एमाले केन्द्रीय सदस्य छन् ।
प्रहरीले यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई बाँकेमै राखेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डमा एउटा टोली नेपालगञ्ज गएर अनुसन्धान गरिरहेको छ ।
बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदन राष्ट्र बैंकमा पठाएपछि राष्ट्र बैंकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन हातमा लिएको थियो ।
राष्ट्र बैंकले सोही रिपोर्ट थप अध्ययन गरी आवश्यक कारबाहीका लागि सीआईबीमा पठाएको थियो । बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको सीआईबीले जनाएको छ ।
