काठमाडौं । सैनिक विशेष अदालतले नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त गरेको छ ।
बिहीबार सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले सहायक रथी खड्का र मेजर कार्कीलाई सेवाबाटै बर्खास्त गर्ने फैसला सुनाएको हो ।
‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ’, सैनिक उच्च स्रोतले भन्यो, ‘अपचलन भएको रकम निजहरुबाट असुलउपर गर्ने पनि फैसला भएको छ।’
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको (कोर्टमार्सल) थियो ।
अवकाश भइसकेका दुई जनासहित चार जनाले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको सैनिक अदालतले ठहर गरेको हो। कोर्ट अफ इन्क्वायरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल अगाडि बढाइएकोमा दुवै जना दोषी ठहर भएका हुन् ।
यस्तै सेनाबाट अवकाश भइसकेका दुई जनालाई भने कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको जिम्मा दिइएको थियो ।
जसमा सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
तत्कालीन् सेनानी लक्ष्मण अधिकारी भने अवकास भएर अमेरिकामा छन् । उनलाई पक्राउ गरेर ल्याउन इन्टरपोलको सहयोग मागिएको छ ।
