काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले आईजीपीको पद अझै ‘गरिमायोग्य’ बनाउन कार्यकारी प्रमुखबाट दर्ज्यानी चिन्ह लगाउने व्यवस्थासहितको कानुन बनाउन प्रस्ताव गरेका हुन् ।
सोमबार सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा सहभागी पूर्व आईजीपी समेत रहेका सांसद ध्रुवबहादुर प्रधानले भने, ‘पिपिङ सेरेमोनीमा मुलुकको कार्यकारी प्रमुखले आईजीपीलाई फुली लगाउँदा शाेभनीय देखिन्छ ।’
अहिले मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरे पनि गृह मन्त्रालयका सचिवले फुली लगाउने व्यवस्था छ । एकीकृत समाजवादीका सांसद भानुभक्त ढकालले पनि आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, ‘आईजीपी नेपाल सरकारप्रति उत्तरदायी हुने र दर्ज्यानी चिन्ह प्रधानमन्त्रीले लगाउने व्यवस्था राख्नुपर्छ ।’
यस्तै नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने व्यवस्था ऐनमा नै गर्नुपर्ने बताइन् । समितिमा उनले भनिन्, ‘यसबाट प्रहरी सङ्गठनको मनोबल बढ्छ ।’
