काठमाडौं । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई)को भर्ना बन्द गर्ने प्रस्ताव अघि बढेको छ ।
हाल संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको प्रहरी विधेयक उपर असईको पदपुर्ति पूर्णरुपमा बढुवाबाट गरेर प्रहरी नायब निरीक्षक (सई) पदमा भर्ना लिने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
जवानमा भर्ना भएपछि वरिष्ठ हवल्दारभन्दा माथि जाने अवस्था नबनेको भन्दै संगठनभित्र निराशा उत्पन्न भएकाले असईको भर्ना बन्द गर्ने र सई पदमा भर्ना लिने प्रस्ताव गरिएको हो ।
यसो गर्दा तल्लो तहका प्रहरीको बढुवा पनि छिटो हुने र सईमा भर्ना भएकाहरु माथिल्लो तहसम्म पुग्नसक्ने भएकाले भर्नामा पनि आकर्षण बढ्ने सम्भावना छ ।
प्रस्तावमा यी विषय समेटिएपछि यस्ता बाध्यता र गुनासा कमजोर हुने प्रहरी संगठनको बुझाइ छ ।
१२ कक्षा उत्तीर्ण गरेकालाई नेपाली सेनाले सहायक सेनानीमा भर्ना लिने गरेको छ । तर, त्यही योग्यता भएकाहरु नेपाल प्रहरीमा भने असईमा भर्ना हुने गरेका छन् । सशस्त्र प्रहरी बलले पनि प्रस्तावित विधेयकमा सईमा भर्ना लिने प्रस्ताव गरेको छ ।
यस्तै विधेयकमा वरिष्ठ हवल्दारसम्मको दर्जालाई १६ वर्षमै पेन्सनसहितको अवकाश दिने व्यवस्था पनि छ । त्यस्तै, ३० वर्षे सेवाहद हटाउने विषयमा पनि छलफल चलिरहेको छ ।
राज्य व्यवस्था समितिले छिटो विधेयक पास गर्नेगरी आइतबारदेखि नियमित छलफल अघि बढाएको छ । संसदको यही अधिवेशनबाट प्रहरी विधेयक पारित गर्ने तयारी छ ।
