काठमाडौं । प्रहरीले महिलाहरुको अश्लील सामग्री बनाएर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा पक्राउ परेका हुन्।
असार १३ गते साँझ ५ बजे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
थापाले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला र पुरुषहरूलाई रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउने र त्यसपछि महिलाहरूका अश्लील फोटो तथा भिडियो बनाएर बिक्री वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अनुसार अश्लील किताब, पर्चा आदि बनाउन वा बिक्री गर्न नहुने कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार जनाएको छ।
