काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–५ की ७ वर्षीया बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या भएको घटनामा उनकै कान्छा काका २२ वर्षीय अनिषले अपराध स्विकार गरेका छन्।
सुरुमा उनले घटनामा आफनो संलग्नता नभएको बताएपनि थप सोधपुछका क्रममा उनले अपराध स्विकारेका हुन्। उनले अश्लिल भिडिओ हेरेर रातको करिव १२-१ बजे सँगै सुतेकी भतिजी आत्तिकालाई ओछ्याबाट उठाई बाहिर लगेर बलात्कार गरेको खुलेको छ।
बलात्कारका क्रममा प्रतिकार र हल्ला गरेपछि मुख थुनेर घाँटी बटारेर हत्या गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। अक्षय सरदारकी माईली छोरी आत्तिकाको शव शनिबार बिहान घरबाट करिब एक सय मिटर पर दुर्गा आधारभूत विद्यालयको छेउको बाटोमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडालका अनुसार आत्तिकाका बुबा–आमा घर बनाउने मजदुर हुन्। गाउँबाट उनीहरु हरेक दिन विराटनगर कामका लागि आउँछन्। उनीहरु काममा जाँदा छोराछोरी हजुरआमा र काकाको जिम्मामा हुन्थे।
शुक्रबार कामबाट फर्किएर अक्षय धार्मिक कार्यका लागि सालोसँग भारतको कटिहारस्थित मनिहारीघाट गएका थिए भने उनकी श्रीमती माइती गएकी थिइन्, दुई छोरी र एक छोरा हजुआमाको जिम्मा लगाएर।
अक्षयकी आमा गाउँमा मदिरा पसल चलाउँछिन्। शुक्रबार बेलुका उनले नाती–नातिनीलाई सुताउनु है भन्दै आफ्नो कान्छो छोरा अनिषको जिम्मा लगाइन्। खाना खाइसकेपछि भतिज र भतिजीलाई लिएर अनिष सुत्न गए। अनिषले मदिरा सेवन गरेका थिए।
भतिज र भतिजी सुतेपछि मोबाइल चलाएर बसेका उनले राति अबेरसम्म ‘अश्लील भिडियो’ हेरेको प्रहरी स्रोत बताउँछ । ‘उसको मोबाइलको हिस्ट्री हेर्दा हरेक दिन अश्लील भिडियो हेर्ने गरेको देखिन्छ, शुक्रबारको घटना अघि पनि हेरेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘भिडियो हेरिसकेपछि सुतेकी भतिजीलाई बोकेर बाहिर लगेर करणी गरेको देखिन्छ ।’
राति करिब १२–१ बजेतिर बलात्कारका क्रममा बालिका चिच्याएपछि उनले मुख थिचेको पाइएको प्रहरीले जनाएको छ। त्यसपछि अनिषले घाँटी बटारीदिएको र बालिकाको आवाज पनि बन्द भएको खुलेको छ। अनिषको शरीरमा बालिकाले चिथोरेको जस्तो दाग पनि छ।
हत्यापछि राति २/३ बजेको बीचमा उनले शव बोकेर सडकको किनारमा फालिदिएको र घर फर्किएर आफनो भित्री कपडा धोएर सुकाएको पाइएको छ। बिहान हजुरआमाले हेर्दा नातिनी घरमा थिइनन्। त्यसपछि गाउँमा बालिका हराएको हल्ला भयो। अनिषलाई सोध्दा ‘चोरी’ भएको हुनसक्ने बताए।
खोजतलासका क्रममा आइतबार बिहान साढे ४ बजे आत्तिकाको शव भेटियो। घटनाको अनुसन्धानका क्रममा अनिष पक्राउ परेका थिए। उनले सुरुमा अपराध स्वीकार गरेनन्। तर, अन्य व्यक्तिको मुभमेन्ट नभएका कारण प्रहरीको शंका उनीमाथि नै थियो।
सोधपुछको क्रममा उनले बोली फेरिरहे। कहिले मैले गल्ती गरेँ भन्दै रोए भने कहिले अरुले मारेको होला भन्दै सुनाए। ‘हत्या गर्ने व्यक्तिले बलात्कारपछि हत्या गरेर शव फालेको र बलात्कार गर्दा लगाएको कपडा धोएर सुकाएको होला’ भन्दै प्रहरीलाई कथा पनि सुनाए। पछि यही कथा उनले गरेका हरेक घटनासँग मिल्यो।
आइतबार बिहान उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरे। आफूबाट गल्ती भएको भन्दै पश्चातापको आँसु झारेको प्रहरी बताउँछ। आफन्त र परिवारका कतिपय सदस्यले भने अझै पनि अनिषले यस्तो अपराध गरेको होला भनेर विश्वास गरेका छैनन्।
