काठमाडौं । डेढ तोला सुन किनेर उधारो रकम चुक्ता नगरेपछि सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो विवादमा तानिएका छन् । उनीविरुद्ध नगरपालिका कार्यालयमै उजुरी परेको छ ।
लहानस्थित विकास ट्रेडर्सका सञ्चालक राजाराम सारदाले आइतबार नगरपालिकामा औपचारिक उजुरी दर्ता गराएका हुन् । उजुरीमा एक वर्षअघि ०८१ साउन ३० गते उपमेयर महतोले २ लाख ५१ हजार ४ सय ३० रुपैयाँ बराबरको सुन उधारोमा लिएको तर, उक्त रकम चुक्ता नगरेको उल्लेख छ ।
चार–पाँच दिनमै पैसा चुक्ता गर्ने बाचा गरेर गएका महतो अहिलेसम्म पैसा लिएर नआएको उजुरीमा उल्लेख गरिएको छ । ‘सार्वजनिक पदमा हुनुहुन्छ। हामीले पटक–पटक अनुरोध गर्यौं, तर उधारो तिर्ने उहाँको मनसाय देखिएन,’ उजुरीकर्ता राजारामले भने ।
लहानका मेयर महेशप्रसाद चौधरीले उजुरी दर्ता भएको पुष्टि गर्दै भने, ‘हाम्रा उपमेयरविरुद्ध उजुरी आएको सत्य हो । मैले यो उजुरी बोर्ड बैठकमा पेस गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छु ।’
नगरपालिकाले उजुरीको औपचारिक छानबिन गर्ने तयारी गरेको जनाइएको छ । उपमेयर महतोले भने आफूलाई कुनै उजुरी परेको जानकारी नभएको र विषयबारे बुझ्ने प्रतिक्रियामा रहेको बताए ।
‘हामीबीच आन्तरिक रूपमा जे जस्तो समस्या भएपनि उजुरी नै परेको छ भन्ने थाहा छैन, मैले पनि बुझ्नुपर्छ,’ उनले भने । स्थानीय व्यवसायीले भने सार्वजनिक पदमा बसेका व्यक्तिले यसरी ब्यवहार विगार्नु र उजुरी नै दर्ता हुनु राम्रो संकेत नभएको टिप्पणी गरेका छन् ।
