काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ सम्मानित भएका छन्। तेह्रथुमको मेन्छ्यायेम सेवा समाजको आयोजनामा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एआइजी खापुङलाई सम्मान गरिएको हो ।
मेन्छ्यायेममा जन्मी, हुर्की तथा माध्यमिक तहसम्मको अध्ययन पूरा गरी नेपाल प्रहरीकाे अरिरिक्त महानिरीक्षकजस्तो उच्च पदमा पुगेर सबैलाई गौरवान्वित बनाउन सफल भएकोमा सम्मान गरिएको समाजका महासचिव केशव भट्टराईले बताए।
सम्मान कार्यक्रममा तेह्रथुम सरोकार समाजका सल्लाहकार तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले एक असल र क्षमतावान प्रहरी अधिकृतका रूपमा खापुङले समग्र जिल्लाको शिर उँचो बनाएको भन्दै प्रहरी महानिरीक्षकमा पदोन्नतिका लागि समेत उनलाई शुभकामना व्यक्त गरे ।
समाजका वर्तमान अध्यक्ष डिल्लीराम ढुंगेलले पनि एआईजी खापुङ तेह्रथुम जिल्लाका लागि गौरव र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै थप सफलताको शुभकामना दिएका छन्।
कार्यक्रममा एआईजी खापुङले आफ्नो जन्मभूमिका साथीहरूको सम्मान र हौसलाको विशेष अर्थ रहने भन्दै यस्तै हौसला, प्रेरणा र स्वस्थ आलोचनाले आफूलाई अघि बढ्न मार्गदर्शन गर्ने बताए।
यस्तै, मेन्छ्यायम गाउँपालिकामै जन्मिएका प्रहरी वरिष्ठ उपरिक्षक अभिनारायण काफ्लेले पनि एआईजी खापुङलाई हार्दिक बधाई दिँदै आफ्ना लागि सधैँ प्रेरणाको पात्र रहेको बताए ।
०५२ सालमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका एआईजी खापुङ हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुखका रूपमा कार्यरत छन्।
