काठमाडौं । सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका५ का २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्प्पा पासाङ तामाङ नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
२१ वर्षीय निमा तेन्जिङ तामाङ बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका हुन् । उनीहरूलाई म्याद थप गरेर जबरजस्ती करणी र ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
बालिका गत मंगलबार रातिदेखि हराएको र भोलिपल्ट बिहान उनको शव छ्याप्दीखोला जंगलको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नो घरबाट करिब ४०० सय मीटर परको बारी कान्लामा बालिकाको बलात्कार भएको र सोही स्थानमा हत्यासमेत गरिएको थियो । हत्यापछि शवलाई एकान्त जंगलको भीरमा लगेर मिल्काइएको थियो । रुखमा अड्किएको र टाउकोमा ढुङ्गाले हानेको अवस्थामा उनको शव फेला परेको थियो ।
बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरिएको पुष्टि भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । बालिकाका बाबुआमा वैदेशिक रोजगारीको क्रममा इराकमा बस्दै आएका छन् भने बालिका दिदी र भिनाजुसँग आफ्नै घरमा बस्दै आएकी थिइन् ।
अभियुक्तहरूका घर खानतलासी गर्दा अपराधसँग सम्बन्धित सामग्रीहरूसमेत प्रहरीले बरामद गरेको बताइएको छ ।
