काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ का दलित युवक ३२ वर्षीय राजकुमार खंगको शव विभत्स हत्या भएको अवस्थामा भेटिएको छ । बिहीबार बिहान राजगढ गाउँपालिका–४ पिप्रास्थित सार्वजनिक पोखरीको डिलमा घाँटी रेटिएको अवस्थामा उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतका अनुसार खंगको घाँटी र छातीमा धारिलो हतियार प्रहार गरिएको थियो । उनी बुधबार बेलुका घरबाट निस्किएका थिए ।
घटनाबारे सूचना प्राप्त भएपछि बिहीबार बिहान करिब ८ बजे प्रहरी टोलीले घटनास्थल पुगेर सूक्ष्म अनुसन्धान सुरु गरेको हो । अनुसन्धानमा मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली परिचालन गरिएको थियो ।
अनुसन्धानको क्रममा मृतकसँग नजिकको सम्बन्ध रहेकी डाक्नेश्वरी नगरपालिका–९ की २१ वर्षीया तुलसी देवी सरदारलाई बिहीबार राती करिव १० बजे सुनसरी प्रहरीको सहयोगमा इनरुवा नगरपालिका–९ बबियाबाट पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकी तुलसीको साथबाट मृतकले प्रयोग गर्ने मोबाइल सेट बरामद भएको छ । उनकै बयानका आधारमा हत्यामा प्रयोग भएको चक्कु समेत घटनास्थल नजिकैको पोखरीमा फेला परेको छ ।
घटनाबारे थप अनुसन्धान गर्न सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको डिएसपी बस्नेतले बताए । मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ ।
यसअघि वैशाख २ गते सप्तरीकै सुरुङ्गा नगरपालिका–७ मा २० वर्षीया पुजा कुमारी रामको शव शंकास्पद अवस्थामा भेटिएको थियो । त्यो घटनामा पनि ‘हत्या पुष्टि’ भए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।
प्रहरीले उक्त घटनामा पनि सिआईबीको सहयोगमा अनुसन्धान भइरहेको जनाएको छ ।
