काठमाडौं । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध तथा असहाय यात्रुहरूको नगद र गरगहना चोरी गर्दै आएको एक भारतीय महिला गिरोह विराटनगरमा पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विशेष सूचनाका आधारमा कटहरी गाउँपालिका–१, बुधहाटबाट ती महिलाहरूलाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला निवासी २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन् ।
तीनै जना सिटी सफारीमा बसेर विराटनगरबाट कटहरीतर्फ जाँदै गर्दा शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनीहरूको साथबाट तीन लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरूले कटहरी–४ निवासी ७० वर्षीय नारायणप्रसाद काफ्लेको झोलाबाट रकम चोरी गरेको स्वीकार गरेका छन् । काफ्ले उपचारपछि घर फर्किंदै गर्दा सार्वजनिक गाडीमा यात्रा गरिरहेका थिए ।
प्रहरीले जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
