काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले काठमाडौं उपत्यकामा लागूऔषधको बिगबिगी बढिरहेको बताएका छन् ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैको ऐक्यबद्धता भए लागूऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने पनि बताए ।
लागूऔषधको न्युनिकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताउँलै उनले लागूऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था आउने बताए ।
कार्यक्रममा उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागूऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताए ।
आईजीपी थापाले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा लागूऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर अघि बढिरहेको बताए ।
लागूऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको आईजीपी थापाको भनाई थियो ।
नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आ.व.मा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागूपदार्थ ५३ प्रतिशतले बढी बरामद गरेको जानकारी दिए ।
