काठमाडौं । सासुको हत्या गरी दुई दशकसम्म भारतका विभिन्न स्थानमा लुकिछिपी बसेका पाल्पाका एक अभियुक्तलाई प्रहरीले नेपाल फर्किने बित्तिकै पक्राउ गरेको छ ।
२०६१ सालको असारमा पाल्पाको सिलुवा गाविस–९ मा भएको हत्या घटनाका मुख्य आरोपी ६६ वर्षीय पूर्णबहादुर सार्की बिहीबार बिहान नेपालगन्जको जमुनाहा भन्सार नजिकै पक्राउ परेका हुन् ।
पाल्पा प्रहरीका एसपी पवनकुमार भट्टराईका अनुसार फरार अभियुक्तको पहिचान र हिँडडुलको जानकारी पत्ता लगाउन प्रहरीले लामो समयदेखि सूचना संकलन र विश्लेषणलाई निरन्तरता दिएको थियो । ‘यो घटनामा २१ वर्षदेखि पक्राउ नपरेका अभियुक्तलाई हामीले योजनाबद्ध रुपमा ट्रेस गर्यौं,’ उनले भने ।
प्रहरीका अनुसार पूर्णबहादुरले आफ्नै सासु चिनिसरा सार्कीलाई कुटपिट गरी हत्या गरेका थिए । आरोपअनुसार श्रीमतीले उनलाई छाडेर अर्को विवाह गरेपछि रिसले आक्रोशित भएका उनले सासूसँग झगडा गर्दै ज्यान लिएका थिए । हत्या गरी भागेका उनी त्यसयता भारतका सीमावर्ती क्षेत्रमा बसोबास गर्दै आएका थिए ।
‘उनी बेला–बेला बाँके हुँदै नेपाल आउँछन् भन्ने प्रमाण फेला पारेपछि टोली परिचालन गरिएको थियो,’ एसपी भट्टराईले भने । पक्राउ परेका सार्कीलाई बिहीबार जिल्ला अदालत पाल्पामा उपस्थित गराई पाँच दिन म्याद थप गरी हिरासतमा राखिएको छ।
