काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको थियो ।
सरकारले बैरागीलाई अध्यक्षको जिम्मेवारी दिएपछि मंगलवार प्रतिनिधिसभा बैठक बहिस्कार गरेर बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा उपसभापति वाग्लेले बैरागी स्वार्थको द्वन्द्वबाट घेरिएको पात्र भएको बताए ।
पहिले त गृहमन्त्री लेखकले आफ्नो ‘गोजी’बाट वैरागीको नाम ल्याएको भन्न भ्याए । ‘जो माथि आरोप लागेको छ, उसैले मन्त्रीपरिषद्मा प्रस्ताव लगेको छ,’ गृहमन्त्री लेखकलाई लक्षित गर्दै वाग्लेले भने, ‘उसैले छानबिन समितिको अध्यक्ष तोकेको छ गोजीबाट। उसैको मातहत रहेका सहसचिव छन् सदस्य ।’
वाग्ले त्यत्तिमै रोकिएनन्, वैरागीमाथि रहस्यमय ढंगले मुख्यसचिवको पद छाडेको आरोप पनि दाग्न भ्याए । उनले भने, ‘त्यो पद पनि रहस्यमय ढंगले छाडेर राष्ट्रिय सुरक्षा सल्लाहकार बन्न जानुहुन्छ ।’
