काठमाडौं । चेक अदालत मुद्दामा दोषी ठहर भएका एक जना प्रतिवादी जिल्ला अदालत मोरङ परिसरबाटै फरार भएका छन् ।
कारागार चलान गर्न लगिएका प्रतिवादी विराटनगर महानगरपालिका–१३ का ४० वर्षीय विजय शंकर झा अदालत परिसरबाटै सोमबार दिउँसो ३ बजेतिर फरार भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनका अनुसार झालाई सुनसरीको दुहबीबाट आइतबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको थियो । चेक अनादर मुद्दामा मोरङ अदालतबाट दोषी ठहर भएका उनी सजाय भुक्तान नगरिकन फरार प्रतिवादी हुन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले दुहबीबाट पक्राउ गरेर कारागार चलानका लागि सोमबार अदालतमा पेस गर्न लगेको थियो ।
प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाउने गरेको छ । प्रहरीले बुझाएपछि अदालतले सजाय भुक्तान गर्न कारागार चलान गर्नुपर्ने हुन्थ्यो । तर, पिसाब गर्न शौचालय जान्छु भनेर प्रहरीलाई छल्दै झा फरार भएको जानकारी डीएसपी चुँडालले दिइन् ।
झालाई अदालतमा पेस गर्नका लागि प्रहरी हवल्दार विकास सिंहको टोलीले बुझेर लगेको थियो । तर, ‘शौचालय जान्छु’ भन्दै फरार भएपछि अदालतले कारागार चलान गर्न सकेन । डीएसपी चुँडालले फरार भएका झाको खोजी तीव्र पारिएको बताइन् ।
