काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिले युवा सङ्घको काँधमा असाधारण जिम्मेवारी रहेको छ । आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् ।
नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस् । यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठनका रुपमा उभ्याओस् ।’
वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारुरुपमा आन्दोलन गर्न सक्ने योजना बनाउने निर्देशन दिए ।
अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरे।
उनले भने, ‘कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरु दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान विनयी र शालिन हुनेछन् । गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति‘ भनेर चाँही बस्दैनन् । त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’
