काठमाडौं । म्याद थपका जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएका एक जना प्रतिवादी प्रहरीकै सामुन्ने भाग्न खोज्दा लडेर घाइते भएका छन् ।
काठमाडौंको भद्रकाली, माइतीघर मण्डलास्थित सरकारी वकिल कार्यालयको तेस्रो तल्लाबाट हाम फालेका थुनुवा घाइते भएका हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार चोरीको मुद्धामा पक्राउ परेका ती थुनुवालाई आइतबार म्याद थप प्रक्रियाको लागि अपराह्न ४ बजेतिर सरकारी वकिलको कार्यालयमा लगिएको थियो ।
तर, उनले प्रहरी र सरकारी वकिलहरुको आँखा छलेर भाग्नका लागि फाल हाले । ती थुनुवालाई ठूलो चोट भने लागेको छैन ।
‘भाग्नको लागि तेस्रो तल्लाबाट हाम फाल्दा सामान्य चोट लागेको छ’, एसएसपी अधिकारीले भने, ‘तर भाग्न सकेन, सामान्य उपचारपछि बौद्ध प्रहरी वृत्तको हिरासतमा लगिएको छ ।’
