काठमाडौं । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्रराज कर्णजितमाथि नर्वेजियन महिलालाई संवेदनशील अंगमा स्पर्श गरेको गम्भीर आरोप लागेको छ ।
संयुक्त राष्ट्रसंघको अन्तर्गत शान्ति स्थापनार्थ साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीय)मा कमाण्डरका रुपमा खटिएका सशस्त्र प्रहरीका एसएसपी कर्णजितमाथि आरोप लागेको हो ।
यो विषयमा राष्ट्र संघले सशस्त्र प्रहरीलाई पत्रचार समेत गरेको छ । राष्ट्र संघको पत्र आएपछि सशस्त्र प्रहरी मुख्यालय हल्चोकले शान्ति मिसनबाट फर्केर आएका १५ जनाभन्दा बढीसँग सोधपुछ गरिरहेको छ ।
११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका एफपीय कमान्डर कर्णजीतमाथि स्वदेश फर्किनुभन्दा केही दिनअघि यूएनमै कार्यरत एक नर्वेजियन महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकाले राष्ट्र संघले सशस्त्र मुख्यालयलाई पत्रचार गरेको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता कालीदास धौबजीले एसएसपी कर्णजितलाई यौन दुर्व्यवहारको आरोप लागेको र यो विषयमा सशस्त्र प्रहरीको कानुन शाखाले अनुसन्धान गरिएको पुष्टि गरे ।
‘राष्ट्र संघले के कसो भएको भनेर पत्रचार गरेको छ, सशस्त्र प्रहरीले पनि मिसनबाट फर्केर आएका कर्मचारीसँग सोधपुछ गरिरहेको छ, कानुन शाखाले यो विषयमा छानबिन गरिरहेको छ,’ प्रवक्ता धौबजीले भने ।
एसएसपी कर्णजीतले त्यहाँको एक रेस्टुरेन्टमा नर्वेजियन महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । ती नर्वेजियन महिलाले यूएन हेडक्वाटरमा उजुरी दिएपछि मात्रै एसएसपी कर्णजीतको यौन दुर्व्यवहारबारे सशस्त्र प्रहरीले चासोका साथ अनुसन्धान सुरु गरेको थियो ।
वैशाख २३ गते कर्णजितको टोली नेपाल फर्केको थियो । सशस्त्र प्रहरीले यो विषयमा गम्भीर रूपमा लिएको छ ।
