वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ। वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।
बिगो मागदाबी भने लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ तोकिएको छ। उनीविरूद्धको यो पाँचौं मुद्दा हो। यसअघि चार वटा सहकारी ठगी मुद्दाको प्रारम्भिक सुनुवाइ समेत सकिइसकेको छ ।
लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको यो सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालयले गत वैशाख १४ मा अनुसन्धान सकेर पूरक अभियोग जिल्ला सरकारी वकिल कार्यालय एक महिनाभन्दा बढी समय लगाएर सरकारी वकिलको कार्यालय पर्साले लामिछानेसहित २९ जनाविरूद्ध गत जेठ ३० गते मुद्दा दायर गरेको हो।
यही कसुरको पूरक अभियोगमा सरकारी वकिलले छविलाल जोशीलाई पनि प्रतिवादी बनाएको छ।
मुद्दा दायर गरिएका लामिछाने अहिले रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् ।
तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
सहकारीले ऐन विपरित सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।
यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।
सहकारी ऐन २०७४ अनुसार सजाय मागदाबी पनि लामिछानेलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरेको छ। त्यसबाहेक संगठित अपराध निवारण ऐन अनुसार थप सजाय माग गरेको छ।
सहकारी ठगी मुद्दामा लामिछानेविरूद्ध मागदाबी गरिएको बिगो रकम र कैद सजाय अहिलेसम्मकै सबैभन्दा धेरै हो।लामिछानेले व्यक्तिगत रूपमा एक करोड ५० लाख रुपैयाँ र गोर्खा मिडियाको संचालक/ प्रबन्ध निर्देशक/ सेयर सदस्य बहाल रहेको अवधिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ अपचलन भएको भन्दै कुल ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो कायम गरिएको हो।
प्रहरीको अनुसन्धानबाट सानोपाइला सहरकारीको केवाइसी अध्ययन गर्दा लामिछाने २०७८ साउन १८ गते सदस्य बनेको देखिएको छ। उनले त्यसमा सेयरबापत एक लाख रूपैयाँ जम्मा गरेका थिए।
फेरि त्यही दिन उनले ऋणी खातासमेत बनाएर भोलिपल्ट एक करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ। उनको नाममा लिइएको एक करोड ५० लाख ऋण फेरि साउन १९ गते नै गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको थियो।
